प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वडा अधिवेशन शुभारम्भ गरेका छन्।
शुक्रबार भक्तपुर पुगेर देउवाले वडा अधिवेशनको शुभारम्भ गर्दै कोरोनाका बीच पनि पार्टी महाधिवेशनमा होमिनुपरेको बताए।
सूर्यविनायक नगरपालिका वडा नम्बर ५ मा आयोजित वडा अधिवेशनमा पुगेका देउवाले नेकपा एमालेका सांसद महेश बस्नेतले दिएका अभिव्यक्तिमाथि जवाफ पनि दिएका छन्।
२०७४ सालमा भएको निर्वाचनमा बस्नेत निर्वाचित भएको क्षेत्रमा आयोजित वडा अधिवेशनबाट देउवाले पहिले दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिएका हुन्।

केही दिनअगाडि बस्नेतले भक्तपुरमा देउवा नै उठे पनि आफूले हराउने अभिव्यक्ति दिएका थिए
भक्तपुर पुगेर देउवाले आज बस्नेतको नाम नै लिएर भने, ‘बस्नेतजी मलाई हराउनु पर्दैन पहिले दुर्लभ थापालाई हराएर देखाउनुस्।’ थापा भक्तपुर कांग्रेस सभापति हुन्।
उनले वडा अधिवेशन गर्दा कोरोना बाँकी नै रहेकोले स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड लागू गर्न पनि आग्रह गरेका थिए। उनले उत्साहसाथ अधिवेशनमा भाग लिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए।
यस्तै पार्टीलाई बलियो बनाएर आउँदो चुनावमा बहुमत ल्याउनुपर्ने पनि देउवाको भनाइ थियो।
हेलो कर्णाली । १८ भाद्र २०७८, शुक्रबार ११:४६