
पोखरा राइनोजका बलिङ प्रशिक्षक शक्ति गौचनले एभरेस्ट प्रिमियर लिगको उपाधि यसपटक आफ्नो टोलीले जित्ने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा प्रतियोगिताको तयारीबारे जानकारी दिनेक्रममा गौचनले पोखराले उपाधि उचाल्ने दाबी गरेका हुन् ।
अघिल्लो संस्करणमा गौचन पोखरा राइनोजको कप्तानको भूमिकामा थिए । यसपटक बलिङ प्रशिक्षकको नयाँ भूमिकामा गौचन पोखरासँग आवद्ध छन् । गौचनले भने टोलीको तयारीबारे भने, “खेलाडीका रूपमा पोखराका लागि उपाधि जित्न मैले धेरै मिहिनेत गरे । तर, सफल भइनँ । अब जिम्मेवारी फेरिएको छ । नयाँ जिम्मेवारी पनि सहज छैन । तर, यो पटक हामीलाई उपाधि जित्ने राम्रो अवसर छ ।”
यस संस्करणको ईपीएल शनिबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुदैछ । ईपीएलमा पोखराको प्रदर्शन अहिलेसम्म सन्तोषजनक छैन । गत संस्करण पोखरा लिग चरणमा अंक तालिकाको पुछारमा थियो ।
यसपटक पोखराले नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक उमेश पट्वाललाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । मुख्य प्रशिक्षक पटवालले युवा र अनुभवी खेलाडीको मिश्रण भएका कारण राम्रो टिम बनेको बताए ।
“फेरि नेपाल फर्किन पाउँदा म खुसी छु । टिममा युवा र अनुभवी खेलाडीको समिश्रण छ । त्यसकारण पनि हाम्रो प्रदर्शन राम्रो हुनेछ,” पटवालले थपे ।
पोखराले विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका रिचार्ड लेभी, श्रीलंकाका असेला गुणरत्ने र सहन अराचिज तथा वेष्ट इन्डिजका केस्रिक विलियम्सनलाई अनुबन्ध गरेको छ । पोखराको कप्तानी राष्ट्रिय टोलीका विकेटकिपर विनोद भण्डारीले गर्नेछन् ।
कप्तान भण्डारीले टोलीको तयारी राम्रो भएकाले प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्ने बताए । बुधबारमात्र सञ्चारकर्मी सोनिका अर्यालसँग इन्जेगमेन्ट गरेका भण्डारीले भने, “छोटो अवधिमा भएपनि हामीले राम्रो तयारी गरेका छौँ । युवा जोशसँगै अनुभवी खेलाडी पनि छन् । विदेशी खेलाडीसँग राम्रो तालमेल भयो भने हामीले राम्रो नतिजा निकाल्नेछौँ ।”
पोखराले भैरवहा ग्लाडियटर्सविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ । पोखराले पहिलो खेल असोज १० गते आइतबार खेल्नेछ ।

हेलो कर्णाली । ७ आश्विन २०७८, बिहीबार १६:२८