आरम्भ: बिशेष सम्पादकीय

प्रीय पाठकवृन्द,

चौरजहारी मिडिया नेटवर्क प्रा. लि. द्वारा सञ्चालित हेलो कर्णालीको अनलाईन संस्करण  www.hellokarnali.com मार्फत यहाँहरु सङ्ग निरन्तर जोडिने लक्ष्यका साथ उपस्थित भएको खबर सुनाउन पाउँदा खुसी लागेको छ।

विश्वब्यापी रुपमा बढिरहेको ” ग्लोबलाईजेसन” र “डिजिटलाईजेसन” को समयमा  “मिडिया ल्याण्डस्केप” परिवर्तन हुदै गरेको अहिलेको यथार्थ हो। कोरोना महाविपत्ती सङ्गै यसको विकास र बिस्तारमा झन ब्यापकता आएको कुरा नकार्न सकिदैन। हरेक संचार  माध्यमको मूलभूत उदेश्य पाठक/ दर्शक/ श्रोतालाई बिसयबस्तुको यथार्थता सङ्ग नजिक पुर्याउने, सबैखाले सूचनामा पहुँच पुर्याउने अनि हरेक खाले असमानताहरुमा खबरदारी गरिरहने नै हुन्छ, भलै माध्यम फरक हुन सक्छन । रेडियो अनि  छापा पत्रकारिताका अनुभवहरुका बीच डिजिटल प्रबिधी मार्फत हामी यो नयाँ यात्रा सुरु गर्दै छौ  ।

 

अनेक संभावना बीच पनि राज्य संयन्त्रको अदूरदर्शी नितीका कारण पछाडि पारिएको कर्णाली प्रदेशलाई आधार क्षेत्र बनाएर यहाँहरु माझ उपस्थित हुने जमर्को थालेका छौ। सांस्कृतिक र प्राकृतिक रुपमा सम्पन्न कर्णाली प्रदेश अहिले पनि राष्ट्रिय स्तरमा नीतिनिर्माताका नजरमा नपर्नु नपारिनु आफैमा दुखद छ। देश संघीय संरचनामा बामे सर्दै गरेको अहिलेको अवस्थामा प्रदेश र स्थानीय सरकारका नीति तथा कार्यक्रमहरु मार्फत प्राकृतिक तथा सांस्कृतिक धरोहरहरुको विकास, संरक्षण र संबर्धनमा उचित ध्यान पुग्न नसक्नु अर्को दुखद पाटो हो। आत्मनिर्भर,सम्मुन्नत अनि विकसित कर्णाली निर्माणको महाअभियानमा यहाँहरु सङ्ग हातेमालो गर्दै पिछडिएका क्षेत्र र जनताको आवाज राज्य सत्तामा रहनेहरु सम्म पुर्याउने कोसिस गरिरहने छौ। संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएका गाँस,बास,कपास अनि शिक्षा, स्वास्थ्य,रोजगारी जस्ता आधारभूत कुराहरु बाट आज पनि कर्णाली बासी वञ्चित छन । हामी यी र यस्तै समस्याहरुको  दीर्घकालीन समाधानका प्रश्न राज्य सत्तामा र नीतिनिर्माणका तहमा रहने सङ गरि रहने छौ। hellokarnali.com यात्राको आरम्भमा यत्ति भनौ हामी आधारभूत तहका जनताका हरेक समस्या सङ चिर परिचित छौ, भुईमान्छेका आवाज निसन्देह निरन्तर उठाईरहने छौ। जात, वर्ग लिङ्ग अनि क्षेत्रका आधारमा हुने बिभेदको बिरुद्द आवाज बुलन्द गर्न हामीले यो डिजिटल प्लेटफम मार्फत अक्षर यात्राको आरम्भ थालेका हौ।

 

हामी “भाईरल” वा “हल्लाको लहडमा चर्चित”हुने होडमा छैनौ। यथार्थ तथ्य र गतिशीलतामा बिश्वास राख्छौ। सत्यको पहरेदारी अनि वदनियत र गल्तीहरुमा निरन्तर खबरदारीमै रहने छौ।

यो यात्रामा हरेक खाले बिचारको सम्मान गर्ने छौ। हामी निरंकुशता वा निषेधमा विश्वास राख्दैनौ । हामी लोकतान्त्रिक मुल्य मान्यतामा नै विश्वास राख्छौ र कानुनी व्यबस्थाको पक्षमा छौ। अहिले नै गरिहाल्नु पर्ने धेरै बाचा र प्रतिबद्धता छैनन। कर्महरुबाटै विश्वसनियता दिलाउने प्रयत्न रहने छ हाम्रो। स्वतन्त्र प्रेसका पक्षमा हाम्रो प्रतिबद्धता चाहिँ हामी जुनसुकै परिस्थितिमा हुदा पनि निसन्देह रहने छ।

सत्य अनि यथार्थता दब्नु दबाईनु हुन्न भन्ने हाम्रो मान्यता हो।कसैको सहजता या असहजतालाई हेरी विषयबस्तु छ्नौट या प्रस्तुत गरिने छैन। जस्तो छ त्यस्तै लेखिने छ, बोलिने छ। हाम्रो चाहाना नकारात्मकतालाई बढावा दिनु हुँदै हुने छैन,सत्यतामा टेकेर सकारात्मक रुपान्तरणका लागि जमिन तयार गर्नु हुनेछ। यसो हुदा कसैलाई हाम्रो भाषा प्रस्तुति रुखो लाग्न सक्छ, कतिपय सवालहरु अप्ठ्यारा र असहज पनि लाग्न सक्छ्न तर हामी रत्तीभर आफ्नो कर्ममा बिचलित हुने छैनौ । “अवसरवाद” मा मोहित हुने न कुनै रहर छ हाम्रो न कुनै लालसा यसो हुदा शासकिय गुनगानमा रम्नेहरुका निम्ति हाम्रो बिषय र शैली पाच्य नहुन पनि सक्छ। हाम्रा सहकर्मीहरु विभिन्न तह र तप्काका स्वार्थ र प्रलोभन छुट्याउन सक्ने क्षमता राख्छ्न । आम सन्चारका क्षेत्रहरु चरम दुरुपयोग गरि व्यक्तिगत स्वार्थपूर्तीमा लिप्त शासक प्रशासक अनि गोटी पत्रकार र “फन्डित टोली” ले हाम्रो उपस्थिति बेकारको हल्ला मात्रै भन्न सक्छ्न, त्यस्ता व्यक्ति र प्रवृत्तिहरु लाई हामी हाम्रो कर्म द्वारा सहानुभूति टक्राउने नै छौ। पत्रकारितको मूल्य मान्यतामा विचलित नभै कर्म गरिरहेका सञ्चार माध्यम र पत्रकार साथीहरु सङ हाम्रो सहकार्य निरन्तर मजबुत अनि घनीभूत रहने नै छ।

काम गरिरहदा हामी बाट पनि गल्ती नहोलान भन्न सकिन्न भुलचुक हुदाका बखत निसङ्कोच माफी माग्ने छौ र सिकाई सम्झेर सुधार पनि गर्ने नै छौ। यात्राका क्रममा गल्ती कमजोरी नियतवश वा नजानी हुने भेद बिचको हेक्का चाहिँ हामी सबैले राख्नै पर्छ।

प्रीय पाठकवृन्द,

हामीले त यात्रा  सुरु मात्रै गरेका हौ। यहाँहरुको साथ सहयोग,हौसला र सहकार्यले मात्रै हरेक लक्ष्य प्राप्तीमा सफलता मिल्नेछ।  सत्यको पहरेदारी र असत्यको खबरदारी को यो अभियानमा यहाँहरुको साथ पाउनेमा विश्वस्त छौ। छरपष्ट पलाईरहेका भ्रष्टाचारका पंखहरु काट्न पनि यहाँहरु चाहिन्छ। मौलाईरहेको कुशासनका बिरुद्द आवाज बुलन्द गर्न पनि यहाँहरु चाहिन्छ। सामाजिक कुरिती अनि अन्धविश्वासका जरा निमिट्यान्न पार्न पनि यहाँहरुको साथ जरुरी छ। समस्याको उठान मात्रै हैन समाधानका विकल्प प्रस्तुत गर्न सक्ने सामर्थ्य सहित यो यात्रा आरम्भ गरेका छौ। आउनुस हातेमालो गरौ ।

यहाँहरु सबैको जय होस ।