३५ वर्षे गेब्रियल बोरिक चिलीको राष्ट्रपति निर्वाचित

काठमाडौं – ल्याटिन अमेरिकी देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपति निर्वाचित भएका छन् । कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

कास्टले मतदान सकिएको साढे एक घण्टापछि र मतपत्र गणना आधा बाँकी नै रहँदा आफ्नो हार स्वीकार गरेका थिए ।

गनिएको करिब आधा मतपत्रमा बोरिकले ५६ प्रतिशत मत पाएका थिए । यता कास्टले भने ४४ प्रतिशत मत पाएका थिए ।

बोरिक विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । सन् २०११-१२ मा विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित विद्यार्थीहरुले गरेको आन्दोलनमा उनी एक प्रमुख अगुवाको रुपमा चिनिएका थिए ।

त्यसपछि सन् २०१३ मा भएको निर्वाचनमा उनी संसदको तल्लो सदनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी बनेका थिए । सन् २०१७ मा पनि उनी अघिल्लो पटकको भन्दा धेरै मतसहित विजयी भए ।

हाल उनी प्रगतिशिल सोशल कन्भर्जेन्स पार्टीका सदस्य हुन् जो संसदमा वाम पक्षधरको ब्राड फ्रन्ट ब्लकको एक हिस्सा हो ।

दुबै उम्मेद्वारले देशका लागि एकदम फरक दृष्टिकोण प्रस्ताव गरे र यी दुबै राजनीतिक दलको प्रतिनिधित्व गर्ने बाहिरी व्यक्ति हुन् जो कहिल्यै सरकारमा रहेनन् ।