सर्वोच्च अदालत ‘फुलकोर्ट’ बैठक आज, मंसिर १५ देखि गोलाप्रथा

सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्न विहीबार ‘फुलकोर्ट’ बैठक बोलाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशहरूबीच बुधबार भएको बैठकमा बिहीबार ‘फुलकोर्ट’ बैठक बसेर पेसी व्यवस्थापनको विषयमा निर्णय गर्ने सहमति भएको छ ।

प्रधानन्यायाधीशबाहेक बसेको न्यायाधीशहरूको बैठकले १५ मंसिरदेखि गोला प्रथाबाट इजलास गठन गर्ने सहमति गरेको छ । न्यायाधीशहरूको बुधबारको छलफलले १५ मंसिरदेखि गोलाप्रथाबाट इजलास तोक्ने सहमति बनेको छलफलमा सहभागी एक न्यायाधीशले जानकारी दिए ।

प्रधानन्यायाधीशसँग इजलास साझेदारी गर्न ६ न्यायाधीश सहमत

गोला प्रथाबाट इजलास तोक्ने निर्णयसँगै १५ मंसिरबाट सबै मुद्दाको सुनुवाइ गर्ने निष्कर्षमा न्यायाधीशहरू पुगेका छन् । हाल न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ गर्दै आइरहेका छन् ।

प्रधानन्यायाधीशसँग इजलास साझेदारी गर्ने विषयमा सर्वोच्चका १९ न्यायाधीशमध्ये ६ न्यायाधीश सहमत भएको सर्वोच्च स्रोतले जानकारी दियो । वरिष्ठतम् न्यायाधीशहरू भने प्रधानन्यायाधीश राणासँग इजलास साझेदार नगर्ने पक्षमा देखिएका छन् ।

६ मंसिरमा सर्वोच्चमा मुद्दाको पेसी गोला प्रणालीबाट तोक्नेगरी नियमावली संशोधनको सूचना राजपत्रमा प्रकाशित भएको थियो । फुलकोर्टले मिति तोकेपछि यो प्रणाली लागू हुने संशोधित नियमावलीमा उल्लेख छ ।

सोमबार राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो । सर्वोच्च अदालतका १८ न्यायाधीश सम्मिलित बैठकले गोलाप्रथाबाट पेसी तोक्ने नियमावली संशोधन गर्दै पारित गरेको थियो । सो सूचना राजपत्रमा प्रकाशित भएसँगै अब फुलकोर्ट बैठक बसेर गोलाप्रथाबाट पेसी तोकिने मिति तोकिनेछ ।

गोलाप्रथाबाट पेसी तोकिने नियमावली लागू हुने भएसँगै प्रधानन्यायाधीशको स्वविवेकीय अधिकारका रूपमा रहँदै आएको अधिकार कटौती भएको छ । सर्वोच्च अदालत नियमावली २०७४ संशोधन गरेर गोलाप्रथाबाट पेसी तोकिने भएपछि सो अधिकार कटौती भएको हो ।

२ मंसिरको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले पेसी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्दै गोलाप्रथाबाट पेसी तोक्नेगरी सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो । सो बैठकको निर्णयलाई प्रधानन्यायाधीश राणाले अनुमोदन गरेपछि फुलकोर्ट बैठकले मान्यता पाउँदै राजपत्रमा सूचना प्रकाशित भएको हो ।

गोलाप्रथाबाट पेसी तोक्ने कार्यविधि लागू भएसँगै २००८ सालमा स्थापना भएको सर्वोच्चमा पहिलोपटक प्रधानन्यायाधीशबाट पेसी तोक्ने अधिकार खोसिएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा २७ साउन २०७७ मा स्वचालित पेसी व्यवस्थापनसम्बन्धी सम्भाव्यता अध्ययन गर्न समिति गठन भएको थियो । समितिले २७ फागुन २०७७ मा अध्ययन सम्पन्न गरेर प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाएको थियो ।

यसरी तोकिनेछ गोलाप्रथाबाट पेसी

बिहीबार फुलकोर्ट बैठकले गोलाप्रथाबाट इजलास तोक्ने निर्णय भएसँगै सर्वोच्चमा गोला तान्ने प्रयोजनका लागि समान रूप, रंग, आकार र बनोटका गोटी प्रयोग गरिनेछ ।
गोटीलाई एक अपारदर्शी थैलीमा राखिनेछ ।
प्रधानन्यायाधीश र न्यायाधीशहरूले वरिष्ठताका आधारमा क्रमशः सबै न्यायाधीशले एक÷एकवटा गोटी तान्नुपर्नेछ ।
तानिएको गोटी सम्बन्धित न्यायाधीशले सीसी क्यामेरामा समेत रेकर्ड हुनेगरी सबैलाई देखाई गोटीको संकेतांक प्रस्ट बुझाउने गरी सुनाउनुपर्नेछ । सोको अभिलेख आन्तरिक कम्प्युटर सञ्जालमा समेत राखिनेछ ।
गोला प्रक्रियाद्वारा इजलास गठन गर्दा क्रमशः बृहत् पूर्ण वा पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुनेगरी प्राथमिकता निर्धारण गरिनेछ । यसका लागि छुट्टाछुट्टै थैली र गोटीको व्यवस्था गरिनेछ ।
गोटी उपस्थित न्यायाधीशहरूद्वारा वरिष्ठताका आधारमा तानिनेछ ।