प्रेम प्रकाश ओली काँग्रेस रुकुम पश्चिमको सभापतिमा सर्वसम्मत

नेपाली काँग्रेस रुकुम पश्चिमको सातौ अधिवेशन बाट वर्तमान सभापति प्रेम प्रकाश ओली दोस्रो कार्यकालको लागी सर्वसम्मत रुपमा सभापति चयन हुनु भएको छ ।सोमबार देखि जिल्ला सदरमुकाम मुसिकोटमा जारी जिल्ला अधिवेशनले ओलीलाई सर्वसम्मत रुपमा सभापति चयन गरेको हो । शहिद हरिभक्त ओलीका सुपुत्र प्रेम प्रकाश ओली, माओवादीद्वारा २०५५ माघ १ गते  वुवाको हत्या गरिए पछी निरन्तर नेपाली काँग्रेस रुकुमको राजनीतिमा सक्रिय हुनुहुन्छ। नेपाली काँग्रेसको राष्ट्रिय राजनीतिमा  विचार समूहका हिसाबले यसअघि रामचन्द्र पौडेल निकट मानिनु हुने ओली यसपाली भने संस्थापन निकट देखिनु भएको छ ।  छैठौं अधिवेशनमा भने कृष्ण बहादुर रोकायलाई पराजित गर्दै निर्वाचन मार्फत सभापति निर्वाचित हुनु भएको थियो । यसपटक पनि जिल्ला सभापति पदमा  देउवा निकट मानिने रोकायको दाबेदारी रहेपनि उहाँलाई कर्णाली प्रदेश कार्यसमितिको उच्च पदमै ल्याउने गरी सहमति भएको काँग्रेस स्रोतले बतायो ।

जिल्ला सभापति सहित सम्पूर्ण पदमा सर्वसम्मतिबाट पदाधिकारी चयन गरेको काँग्रेसले नेतृत्व चयन सौहार्दपूर्ण वातावरण सम्पन्न  भएको जनाएको छ । सोमबार अधिवेशन उद्घाटन पछी मंगलबार  दिन भर सहमतिका लागी प्रयास  गरिए पनि ठोस परिणाम निस्किन नसक्दा नेपाली कांग्रेसका नेता गोपाल जि जंग शाहको नेतृत्वमा एक कार्यदल गठन गरिएको थियो । कार्यदलको बुधवार दिन भर भएका बिभिन्न चरणका छलफलहरु बाट अबेर राती  निष्कर्षमा पुगिएको नेपाली काँग्रेस रुकुमले जनाएको छ । नेपाली काँग्रेस रुकुम पश्चिमले सातौं अधिवेशनबाट ३७ सदस्यीय जिल्ला कार्य समिति सहित २५ जना महाधिवेशन र ३४ जना प्रदेश प्रतिनिधि चयन गरेको छ, यद्यपी आधिकारिक घोषणा हुन् भने बाकी नै छ । आवश्यक प्रक्रिया पुर्याई आज बिहिबार नाम घोषणा गरिने कार्यक्रम छ ।

नेपाली काँग्रेस रुकुम पश्चिममा  प्रेम प्रकाश ओलीको नेत्तृत्वमा चयन भएको जिल्ला कार्य समितिको उप-सभापतिमा हर्कसिं खत्री र सुरतजंग मल्ल चयन हुनुभएको छ । कार्य समिति सचिवमा परमेश्वर भण्डारी र तारक बहादुर  शाही चयन हुनुभएको छ भने सह-सचिवमा यज्ञ बिष्ट र प्रेमबहादुर खड्का चयन हुनु भएको  छ।  कार्य समिति कोषाध्यक्ष मनोनित गर्नु पर्ने प्रावधान रहेकोले कोषाध्यक्षमा मोहबिर खडका लाई नै निरन्तरता दिने सहमति भएको छ। जिल्ला सदस्यमा भने समावेशी हिसाबले ३ वटा नगरपालिका बाट कम्तिमा ३-३ जना र ३ वटा  गाउँपालिका बाट कम्तिमा २-२ जनाका दरले  र ९ जना आरक्षित समूहको  प्रतिनिधित्व हुने गरी चयन गरिएको बताईएको छ ।

बुधबार  नै भएको सहमति अनुसार नेपाली कांग्रेस  प्रदेश सभा ( क ) को क्षेत्रीय सभापतिमा महेन्द्र केसी र प्रदेश सभा (ख )को क्षेत्रीय सभापतिमा भद्रबहादुर बिष्ट चयन हुनु भएको छ ।

सहमति अनुसारको विवरण निर्वाचन समितिलाई  बुझाई सकिएको र निर्वाचन समितिको प्राविधिक काम सकिए पछी आजै घोषणा गरिने कार्यक्रम रहेको नेपाली काँग्रेस रुकुम पश्चिमले बताएको छ ।