काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको छ ।

केही प्रदर्शनकारी संसद भवनको एक नम्बर गेट (सिभिल अस्पतालतर्फको गेट)सम्मै पुगेका थिए । ती प्रदर्शनकारीलाई प्रहरीले हटाएको छ । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरा प्रयोग गरेको हो ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायत दलका कार्यकर्ताहरु बिहानैदेखि बानेश्वर क्षेत्रमा भेला भएर एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समूह पनि एमसीसीको विरोधमा मिसिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भएको भेटवार्तामा आजको संसद बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । भोलि दिउँसो सत्ता गठबन्धनका नेताहरुको बैठक बसेर एमसीसीबारे निर्णय गर्ने बताइएको छ ।
सभामुख अग्नि सापकोटाले पनि दलहरुबीच सहमति नजुटेको भन्दै एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय सुनाएका हुन् ।

हेलो कर्णाली । ४ फाल्गुन २०७८, बुधबार १४:३३