
सुर्खेत – नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर प्रदेशका १० वटै जिल्लामा चुनावी कमान्डर खटाएको छ ।
‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ मूल नाराका साथ सोमबारदेखि नै तोकीएका जिल्लामा नेताहरु जाने र चैत २० गतेसम्म जिल्लादेखि टोलस्तरसम्म १५ दिने जनपरिचालन अभियान सञ्चालन गर्ने सुर्खेतमा आयोजीत पत्रकार सम्मेलन मार्फत जनाईएको छ ।
प्रदेश कमिटी बैठकले ठगेन्द्रप्रकाश पुरीलाई सुर्खेत, अम्मरबहादुर थापालाई दैलेख, शेरबहादुर केसीलाई रुकुम पश्चिम, नन्दा शर्मालाई सल्यान, कृष्णबहादुर विसीलाई जाजरकोट, चन्द्रबहादुर शाहीलाई हुम्ला, हंशबहादुर शाहीलाई डोल्पा, देविलाल थापालाई जुम्ला, कुर्मराज शाहीलाई कालीकोट र गोपाल बमलाई मुगुमा खटाएको हो ।
बैठकले ४७ सदस्यीय सचिवालय, १२ सदस्यीय कार्यालय र २७ वटा विभाग गठन गरेर नेताहरुको जिम्मेवारी समेत बाँडफाँड गरेको छ । समाजवादीले सबै जिल्लामा चैत १५ गते र पालिकामा १८ गते निर्वाचन परिचालन कमिटीहरु घोषणा गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले समाजवादीमा समाहित भएका नेकपा जनवादी र राष्ट्रिय जागरण परिषद्का ११ जनालाई प्रदेश कमिटी सदस्यमा मानोनित गरेको छ ।

हेलो कर्णाली । ८ चैत्र २०७८, मंगलवार १४:४१