करदाता सेवा कार्यालयको टोली चौरजहारीमा, मिसम्याचमा परेको रकम फरफारक गर्न आग्रह

आन्तरिक राजश्व कार्यालय दाङ अन्तर्गत करदाता सेवा कार्यालयको टोली दुई दिने घुम्ती शिविर संचालनका लागी चौरजहारी आईपुगेको छ । मिसम्याचमा परेका व्यावसायीको कारोबार रकम  फरफारकमा  सहजताका लागी कार्यालयलाई अनुरोध गरिएकोमा करदाता सेवा कार्यालयका कर्मचारीहरु चौरजहारी पुगेको चौरजहारी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेज बिष्ट ‘ओके’ ले जानकारी दिनु भयो ।

आज र भोली गरी दुई दिन चौरजहारीमा रहने उक्त टोलीले घुम्ती शिविर मार्फत  मिसम्याचको फरफारक, नयाँ प्यान दर्ता, करचुक्ता प्रमाण पत्र वितरण लगायत कर सम्बन्धि अन्य सेवा प्रदान गरिने बताईएको  छ ।

करदाता सेवा कार्यालय श्रीनगर सल्यानले सूचना जारी गर्दै कारोबार रकम मिसम्याच भएका करदाताहरुले चैत मसान्त सम्म कर दाखिला गरेमा मिसम्याचमा परेको रकमको १.५ प्रतिशत मात्र तिर्नुपर्ने गरी छुट सुविधा दिईएको र  चैत मसान्त भित्र कर दाखिला नगरेमा मिसम्याचको ३६ प्रतिशत सम्म  कर थप हुने सक्ने कार्यालयले बताएको थियो   ।

उद्योग वाणिज्य संघका रुकुम पश्चिम र रुकुम पूर्वमा आर्थिक वर्ष ०७३/०७४ देखि ०७६/०७७ सम्मको कारोबार मिसम्याच परेका ४०३ जना व्यवसायीहरु रहेका छन ।  रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका १२७, चौरजहारी नगरपालिकामा रहेका ६९, आठबिसकोट नगरपालिकाका ४८, त्रिवेणी गाउँपालिकाका ४७, बाँफिकोट गाउँपालिकाका २४ र सानीभेरी गाउँपालिकाका २२ करदाताको कारोबार मिसम्याचमा परेको छ भने रुकुम पूर्वको सिस्ने गाउँपालिकाका ३९, भूमे गाउँपालिकाका १९ र पुथा उत्तरगंगा गाउँपालिकाका ८ जना व्यवसायीको कारोबार मिसम्याचमा परेको छ ।

चौरजहारी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेज बिष्ट ‘ओके’ ले करदाता कार्यालयले आफ्नो अनुरोध स्वीकार गर्दै कर्मचारी खटाएकोमा धन्यवाद व्यक्त गर्दै व्यावसायीहरुलाई समयमै मिसम्याचमा परेको रकम फरफारक गरी प्राप्त छुट सुबिधाको उपयोग गर्न र ढिलो हुदा लाग्ने जरिवाना बाट बच्नका साथै कर सम्बन्धि अन्य काम पनि आज र भोली चौरजहारी बाटै हुने भएकोले मौकाको फाईदा उठाउन अनुरोध गर्नु भएको छ  ।