शुक्रबार सेयर बजार परिसूचक नेप्से ७.५७ अंकले घटेर बजार बन्द भएको छ । पहिलो पटक २ घण्टाका लागि खोलिएको बजारमा आज नेप्से सूचक ७.५७ अंकले घटेर १९ सय ७१.३६ अंकमा झरेको हो ।७ अंक माथिले घटेको बजारमा आज कारोबार रकम समेत ७३ करोड ६२ लाख रुपैयाँ बराबरको मात्र भएको छ ।
यद्यपि, यस बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टाका लागि मात्र बजार खुलेको थियो । यससँगै अब सेयर कारोबार साताको ६ दिन नै हुने भएको हो । शनिबार बन्द रहने कारोबार आइतबारदेखि बिहीबारसम्म भने अपरान्ह ११ बजेबाट तीन बजेसम्म चल्नेछ ।
सरकारले गत जेठ महिनाभर टेस्टिक पिरियडको रुपमा शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिएसँगै सेयर बजारको समय समेत फेरिएर सोमबारदेखि शुक्रबार खुल्ला गरिएको थियो । तर एक महिना पुरा नहुँदै सरकारले पुनः आइतबारको विदा खारेज गरेसँगै नेप्सेले आइतबार सहित शुक्रबार सातामा ६ दिन नै बजार खुल्ला गर्ने निर्णय गरेको थियो ।
शुक्रबार २२० कम्पनीको १५ हजार १६३ वटा कारोबारबाट २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच भएको छ । यस दिन ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार म्युचअल फन्डबाहेक सबै उपसमूहको मूल्य घटेको छ । जसमा सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ताले गुमाएका छन् ।
शुक्रबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ५९६.७० रुपैयाँ कायम भएको छ । सीवाईसी नेपाल लघुवित्तको मूल्य ४.०२ प्रतिशतले बढ्यो । लुम्बिनी जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्सको मूल्य समेत धेरै बढ्नेमा रह्यो । बिहीबारबाटै कारोबारमा आएको रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै ५.९३ प्रतिशतले घट्यो । यसको मूल्य २७३ रुपैयाँमा झरेको छ । बुद्धभूमि नेपाल हाइड्रोको मूल्य ४.६४ प्रतिशतले घटेको छ । यस दिन नेपाल टेलिकमको सबैभन्दा धेरै कारोबार भएको छ ।
पछिल्लो निर्णय भएपछिको पहिलो दिन नै ७ अंक माथिले घटेको बजारमा आज म्युचुअल फन्ड बाहेकका अन्य सबै उपसूचक ऋणात्मक भएका छन् ।
हेलो कर्णाली । ३ असार २०७९, शुक्रबार १४:१५