पहिलोपटक रूकुम र जाजरकोटले पाए कांग्रेस केन्द्रीय सदस्य

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट इतिहासमै पहिलोपटक कर्णाली प्रदेशका दुई जिल्ला रूकुम पश्चिम र जाजरकोटले केन्द्रीय सदस्य पाएका छन्।

संस्थापन पक्षबाट उम्मेदवारी दिएका रूकुम पश्चिमका मानबहादुर नेपाली र जाजरकोटका राजिव विक्रम शाह केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। नेपालीले दलित खुल्लाबाट र शाहले भूगोल तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए।

राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्षसमेत रहेका केन्द्रीय सदस्य नेपाली दलित समुदायबाट नेपाली कांग्रेस भित्र जिल्ला पार्टी सभापति हुने नेपालकै पहिलो नेता हुन्।

उनी माओवादीको उद्गमस्थल रूकुममा ज्यानको बाजी थापेर कांग्रेसको बिउ जोगाएको बताउँछन्। रूकुममा मात्रै आस्थाका आधारमा कांग्रेसका ८४ नेता कार्यकर्ताको हत्या भएको भन्दै उनले आफूले जित्दै गर्दा ती सबैको त्यागलाई सम्मान गर्ने बताए।

उनले विकट भूमिबाट आफूले कांग्रेस आन्दोलनमा लाग्दा र दलित आन्दोलनको नेतृत्व गर्दा कयौं चुनौतिको सामना गर्नुपरेको स्मरण गरे। भविस्यमा पनि ग्रामिण भेगका उत्पीडित समुदाय, दलित र गरिब बर्गको उत्थानको लागि केन्द्रीय सदस्यको हैसियतले निरन्तर आवाज उठाइ रहने उनले बताए।

त्यस्तै केन्द्रीय सदस्य शाह जाजरकोटबाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित संविधानसभा सदस्य हुन्। जाजरकोटबासीकै कारण राजनीतिमा आएको बताउँने उनी जिल्लावासीलाई कुनै ठूलो समस्या पर्नासाथ आफैं खटिन्छन्।

शाहले नेपाली कांग्रेसलाई गाउँ फर्काउन आवश्यक रहेको तर्क गर्दै पार्टी भित्र नेता कार्यकर्ताबीचको मजबुत एकता नै कांग्रेस बलियो हुने आधार रहेको जिकिर गरे।