मन्त्री ज्वालालाई फिर्ता बाेलाउनेबारे आन्तरिक छलफलमा एकीकृत समाजवादी

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने कि नबोलाउने भन्नेबारे सो पार्टीभित्र आन्तरिक छलफल सुरु भएको छ ।

बालकुमारी घटनामा मन्त्री ज्वाला नै दोषी ठहर भएपछि उनको चौतर्फी आलोचना र राजीनामा माग भैरहेकाेछ ।

गत पुस १३ गते दुई जनाको मृत्यु हुने गरी भएको बालकुमारी घटना जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि पार्टीभित्र मन्त्री ज्वालाबारे आन्तरिक छलफल सुरु भएको हो ।

आइतबारको प्रतिनिधि सभा बैठकमा समेत प्रतिपक्षका सांसदहरूले मन्त्री ज्वालाको राजीनामा र कारबाहीको माग गरेपछि एकीकृत समाजवादी थप दबाबमा परेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बालकुमारी घटनामा जोडिएका मन्त्री ज्वालाबारे जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर थप कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।