मंसिर १ देखि ई-पासपोर्ट

सरकारले मंसिर १ गतेदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न शुरु गर्दैछ । राहदानी विभागले त्रिपुरेश्वरथित विभागको नयाँ भवनमा ई-पासपोर्ट छपाइको तयारीको लागि अन्तम चरणका परीक्षणहरु गरिररहेको छ ।

अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ । विभागका प्रवक्ता शरदराज आरनका अनुसार मंसिर एक गते विशेष समारोहका बीच ई-पासपोर्टको वितरण शुरु हुनेछ । विभागले कोबाट यसको शुरुआत गराउने भन्ने सार्वजनिक गरेको छैन ।

‘शुरुआतका केही दिन हामी दैनिक सीमित मात्रै ई-पासपोर्ट वितरण गर्छौं,’ प्रवक्ता आरनले भने,’पूर्ण रुपमा ई-पासपोर्ट वितरण नभइन्जेल विभागले अत्यावश्यक परेर वा स्वेच्छिक रुपमा बनाउन चाहानेलाई एमआरपी पनि वितरण पनि गरिरहन्छौं ।’

विभागले मंसिर १ गतेदेखि आंशिक रुपमा शुरु हुने ई-पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना छ । एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले शुरुआतमा दुबै खालका पासपोर्ट वितरण गर्ने तयारी गरेको हो ।

सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटी’सँग ई-पासपोर्ट छपाइको लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार १० महिनाभित्र कम्पनीले ई-पासपोर्टको वितरणका लागि सबै काम सकाउनुपर्ने थियो । विभागले लक्ष्यअनुसार नै समयमै काम सकेको छ ।

ई-पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले ई-पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ ।