बालकुमारी घटना हुनुमा मन्त्री ज्वाला जिम्मेवार : जाँचबुझ आयोग

बालकुमारी घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको छ ।

सुरक्षा व्यवस्थालाई बेवास्ता गरेको भन्दै आयोगले उक्त घटनामा मन्त्री ज्वालाको दोष देखिएको आयोग स्रोतले बताएको छ ।

आयोगले मन्त्री ज्वालाले नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस गरेको छ । मन्त्री ज्वालाकै निर्देशनमा गाडी विपरीत दिशामा प्रवेश गर्दा उक्त घटना भएको आयोगको ठहर छ ।

उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरूणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई सदस्य रहेको उक्त आयोगले शुक्रबार उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवदेन बुझाएको हो ।

उक्त समितिले निलम्बित दुई प्रहरी अधिकारीको पनि केही कमजोरी औंल्याएको छ । डिएसपी उमेश लम्साल र पिएस‌ओ बोधराज दनुवारलाई विभागीय कारबाही सिफारिस गरेको पनि आयोग स्रोतले बतायो ।

फिल्ड कमाण्डर समेत रहेका डिएसपी लम्सालले अश्रुग्यासका सेलहरू पहिल्यै प्रयोग गरिसकेको, माथिल्लो निकायसँग समन्वय नगरी गोली चलाएको र मन्त्री ज्वाला भएको ठाउँसम्म पुग्नेक्रममा अश्रुग्यास सेलहरू सकेको पाइएको भन्दै कमजोरी देखिएको बताएको हो ।

यता पिएसओ दनुवारले भने यस्ता घटनाबारे पहिल्यै अवगत हुनुपर्ने, घटनाबारे थाहा पाइसकेपछि पनि जबरजस्ती गर्न नहुने आयोगको निष्कर्ष छ। मन्त्रीको रूटबारे पनि पहिल्यै जानकारी लिनुपर्ने आयोगले जनाएको छ ।

गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।