गण्डकी कांग्रेसमा शुक्रराज शर्मा विजयी, एक पदाधिकारी बाहेक सबैमा शर्माकै टिम विजयी

पोखरा – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा शुक्रराज शर्माको नेतृत्वको टिमले एक उपसभापति बाहेक सबै पदाधिकारीमा जित हासिल गरेको छ । सभापतिमा खसेको जम्मा ११ सय ४६ मत मध्ये शर्माले ६१२ मत ल्याए भने उनका प्रतिस्पर्धी अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याए ।

झण्डै २ दशक नेतृत्व गरेर पनि फेरि कास्की कांग्रेसको सभापतिको उम्मेदवार बन्दा उनी पराजित भएका थिए । शुक्रराज शर्मा कास्कीका यस्ता राजनीतिक पात्र हुन्, जो संसदीय निर्वाचनमा हारिरहे तर पार्टीभित्र भने सधैं जमिरहे । २०४८ र २०५१ सालका कास्की क्षेत्र नम्बर २ बाट टिकट पाएका शर्माले चुनाव भने जित्न सकेनन् । २०५६ सालमा राष्ट्रिय सभा सदस्य भएका शर्मा २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका एमाले उम्मेदवार जगत विश्वकर्मासँग चुनाव हारेका थिए ।

उपसभापतिमा शीर्ष मत ल्याउँदै स्याङ्जाकी पौडेल समूहकी कल्पना तिवारी र संस्थापन प्यानलबाट मेखलाल श्रेष्ठले जितेका छन् । तिवारीले ६ सय २४ र मेखलाल श्रेष्ठले ५ सय ५६ मत ल्याएका छन् । संस्थापनबाट म्याग्दीका नेत्र महत र पौडेल पक्षका बागलुङका हरिप्रसाद श्रेष्ठ उपसभापतिमा पराजित भए ।

महामन्त्रीमा पौडेल समूहका गोेरखाका किरणबाबु श्रेष्ठले ५ सय ७३ शीर्ष मत ल्याउँदै विजयी भए भने सोही समूहबाट ५ सय ६७ मत ल्याउँदै विष्ण लामिछानेले जितेका छन् । संस्थापन पक्षबाट  कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डे पराजित भएका छन् ।

सहमहामन्त्रीमा पौडेल समूहका रमेशकुमार पाण्डेले ६ सय १८, रामचन्द्र जोशीले ५ सय ६९ मत ल्याउँदै जीत हात पारेका छन् । संस्थापन समूहबाट गोरखाका राजनराज पन्त, तनहुँका झुलबहादुर आले उम्मेदवार थिए । युवराज बस्ताकोटी र गणेश सापकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।

महिला सहमहामन्त्रीमा पौडेल समूहकै कोपिला रानाभाट विजयी भएकी छन् । ओमकला गौतमले ५ सय २४ मत ल्याउँदा रानाभाटले ५ सय ५२ मत ल्याएकी छन् ।

अध्यक्षका लागि परम्परागत मतदान प्रक्रिया अपनाइएको थियो भने अन्य पदाधिकारीका लागि विद्ययुतीय भोटिङ मेसिनको प्रयोग गरिएको थियो ।