चौरजहारी खानेपानीको महशुल भुक्तानी अब ईसेवा बाटै 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा संचालित बिजयश्वरी चौरजहारी सुख्खा खानेपानी तथा सरसफाई संस्थाले खानेपानी महशुल डिजिटल वालेट ईसेवा मार्फत भुक्तानी गर्न सकिने प्रक्रिया थालेको छ ।

एक घर एक धाराको नीति अनुसार बिगत दुई बर्ष देखि लिफ्ट प्रबिधि मार्फत चौरजहारी नगरपालिका भित्र खानेपानी सुबिधा दिईरहेको संस्थाले उपभोक्ताको सुबिधालाई ध्यानमा राख्दै “डिजिटल पेमेन्ट” सेवा सुरु गर्न लागेको संस्थाका अध्यक्ष तेज बहादुर बटालाले बताउनु भयो ।

केही प्राबिधिक र कागजी प्रक्रिया मिलाउन बाकी रहेको र प्रक्रिया मिल्ने बित्तिकै खानेपानी महशुल ईसेवा बाटै भुक्तानी गर्न सकिने छ। प्रक्रिया मिलानका लागि कार्तिक १० गते देखि १७ गते सम्म कार्यालयमा हुने नगद कारोबार बन्द गरिएको अध्यक्ष बटालाले जानकारी दिनु भयो । बटालाले भन्नू भयो  “आर्थिक पारदर्शिता कायम राख्न र उपभोक्तालाई पनि महशुल भुक्तानीका लागि कार्यालय धाईरहनु पर्ने झन्झटबाट सहजता होस भन्नका लागि यो प्रक्रिया थालिएको हो, मङ्सिर महिना देखि नियमित सेवा सुरु हुने गरि काम गरिरहेका छौ। ”

महशुल भुक्तानीका लागि कार्यालय नै धाईरहनु पर्ने समस्याबाट मुक्ति मिल्ने भन्दै संस्थाको कार्य सकारात्मक रहेको स्थानीय गणेश पोखरेलले बताउनु भयो।