सुदूरपश्चिममा नयाँ मुख्यमन्त्रीको शपथसँगै मन्त्रिमण्डल विस्तारको तयारी

धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज ३ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । योसँगै उनको सत्ता साझेदार दल तथा प्रदेशसभा सदस्यबीच संवाद चलिरहेको छ ।

कांग्रेसको संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री शाहलाई हालसम्म एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य डा. तारा जोशीको समर्थन छ ।

मन्त्रिमण्डल विस्तारका लागि कांग्रेस संसदीय दलको बैठक दिउँसो १ बजे बस्दैछ । पहिलो चरणमा ३ देखि ५ सदस्यीय मन्त्रिमण्डल विस्तार हुनसक्ने बताइएको छ । प्रदेशसभा सदस्य मेघराज खड्का र प्रकाश देउवाको मन्त्री हुने सम्भावना छ । खड्का कांग्रेस सुदूरपश्चिमका महामन्त्री समेत हुन् ।

त्यस्तै, एकीकृत समाजवादीबाट संसदीय दलका नेता दीर्घ सोडारी, प्रकाश रावल र बाजुराबाट निर्वाचित नरेशकुमार शाहीमध्ये एकलाई मुख्यमन्त्री शाहले मन्त्रीमा नियुक्त गर्न सक्ने जनाइएको छ । तर सोडारी र रावल मन्त्री भइसकेकाले शाहीको सम्भावना बलियो रहेको बताइएको छ ।

त्यस्तै, डडेलधुराबाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य डा.तारा जोशीलाई पनि मन्त्री मण्डलमा समावेश गराउने छलफल चलिरहेको छ ।

अघिल्लो सरकारमा सहभागी भएको माअ‍ोवादी केन्द्रलाई समेत सरकारमा ल्याउने छलफल भइरहेको बताइएको छ ।