एमालेका घिमिरे सभामुखका उम्मेदवार, कांग्रेसले पनि उम्मेदवारी दिने

काठमाडौँ – सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ । झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपा बीचको सहमतिअनुसार सभामुखको उम्मेदवार बनाउन लागिएको हो ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्षबीच राष्ट्रपति एमालेले ५ वर्ष पूरै कार्यकालका लागि लिने तथा प्रधानमन्त्री र सभामुख आलोपालो दुवै दलले नेतृत्व गर्ने सहमति अनुसार माओवादीबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइसकेकाले सभामुखमा पहिलो कार्यकाल एमालेले लिनेगरी घिमिरे उम्मेदवार बन्ने भएका छन् ।

यसअघि एमालेबाट सभामुखका लागि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेतृ विद्या भट्टराईले सभामुखमा आकांक्षा राखेपनि एमाले अध्यक्ष ओलीले विश्वकर्मा र भट्टराई भन्दा घिमिरे उपयुक्त हुने भन्दै उनैलाई अघि सारेका हुन् ।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको लागि प्रकाशित गरेको कार्यतालिकाअनुसार आज बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुँदैछ ।

विपक्षी गठबन्धन बनाउने प्रयासमा कांग्रेस

नेपाली कांग्रेसले सभामुखको निर्वाचनमा सत्तारुढ दलको साथ नपाउने भएपछि विपक्षमा रहेका दलहरूसँग गठबन्धनको प्रयास थालेको छ ।

सभापति शेरबहादुर देउवाले यसअघि संसद्‍मा रहेका सबै दलसँग छलफल गर्ने र निर्णयमा पुग्ने रणनीति लिएकोमा सभामुखमा सत्तारुढ दलहरूबाट सहयोग हुने सम्भावना कमजोर बनेपछि विपक्षमा रहेका दलहरुसँग छलफल गरेर उम्मेदवारी दिन छलफल थालेका हुन् ।

विपक्षमा रहेका दलहरू नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीसहित दलहरुसँग छलफल गरेर सभामुख र उपसभामुख पदमा तालमेल गरेर उम्मेदवारी दिनेबारे बैठकमा छलफल भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसले सभामुख लिने र अन्य दललाई उपसभामुख दिनेबारे समेत छलफल भएको छ । तर उम्मेदवारका नामका विषयमा भने छलफल भए पनि निर्णय भइसकेको छैन ।