बैंकहरुले धमाधम लाभांश घोषणा गर्दै , कुनको कति ?

हालसम्म ७ वाणिज्य र २ विकास गरी कुल ९ बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

हालसम्म हिमालयन, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन् । बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ ।

लाभांश प्रस्ताव गरेका सात वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको छ । बैंकले सेयरधनीलाई कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ ।

बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीको हातमा लाभांश पर्नेछ । बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दशैंपछाडी मात्र लाभांश पाउने भएका छन् ।

विगतका वर्षमा केही वाणिज्य बैंकले दशैंअघि नै वार्षिक साधारणसभा बोलाएर सेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दशैं अगाडि लाभांश नपाउने भएका हुन् ।

कुन बैंकको कति ?

गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै, सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् । गत आवको नाफाबाट माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो बैंकले कात्तिक २६ गतेका लागि साधारणसभा पनि बोलाइसकेको छ ।

यस्तैगरी, कुमारी बैंकले सेयरधनीलाई ८.६७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

दुई विकास बैंकको घोषणा

आधादर्जन बढी बैंकहरुले लाभांश घोषणा गरे पनि विकास बैंकतर्फ हालसम्म २ वटाले मात्र प्रस्ताव गरेका छन् । कामना सेवा र सांग्रिला डेभलपमेन्टले लाभांश घोषणा गरेका हुन् ।

कामना ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।यही असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांशसमेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, सांग्रिला डेभलपमेन्टको असोज १९ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।