भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा खड्गे विजयी, २४ वर्षपछि नेतृत्व गान्धी परिवार बाहिर

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिाकार्जुन खड्गे विजयी भएका छन् । अर्का नेता शशी थरुरलाई भारी मतान्तरले पछाडि पार्दै खड्गे निर्वाचित भएका हुन् ।

समाचार एजेन्सी एएनआईका अनुसार बुधबार सार्वजनिक मत परिणामअनुसार खड्गेले ७ हजार ८९७ मत ल्याए भने थरुरले करिब १ हजार ७२ मत मात्रै प्राप्त गरे । निर्वाचनमा खसेका कुल ९ हजार ३८५ मतमध्ये ४ सय १६ मत रद्द भएको समाचारमा जनाइएको छ ।

परिणाम सार्वजनिक भएसँगै थरुरले एक विज्ञप्ति जारी गर्दै खड्गेलाई बधाइ दिएका छन् । ‘कांग्रेसको अध्यक्ष हुनु ठूलो सम्मान र जिम्मेवारी हो । म उहाँको सफलताको कामना गर्दछु । मेरो लागि हजारभन्दा बढी सहकर्मीहरूको समर्थन प्राप्त हुनुु पनि महत्वपूर्ण हो’, थरुरले भनेका छन् ।

गान्धी परिवार बाहिरबाट नेतृत्व

भारतीय कांग्रेसको नेतृत्व २४ वर्षपछि गान्धी परिवारभन्दा बाहिर गएको छ । सन् २०१९ को आम निर्वाचनमा पार्टी पराजय भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिने क्रममा नै अबदेखि गान्धी परिवारबाट कोही पनि अध्यक्ष नहुने बताएका थिए ।

राहुलले २०१७ मा अध्यक्षको जिम्मेवारी सम्हालेपछि सम्पन्न निर्वाचनमा पार्टीले लगातार दोस्रो पटक हार व्यहोरेपछि सन् २०१९ मा नैतिक जिम्मेवारी लिँदै राजीनामा गरेका थिए । त्यसयता सोनिया गान्धी नै अन्तरिम अध्यक्षका रूपमा दोहोरिएकी थिइन् ।

सोनिया सन् १९९८ यता करिब २२ वर्ष पार्टीको नेतृत्वमा बसिरहेकी छन् । उनी कांग्रेसको नेतृत्व सबभन्दा लामो समय निरन्तर गर्ने एक मात्रै अध्यक्ष हुन् । बीचमा छोरा राहुललाई उत्तराधिकारीका रूपमा अध्यक्षको जिम्मेवारी दिए पनि सम्हाल्न नसकेपछि उनी आफैं अन्तरिम अध्यक्ष बनेकी थिइन् । उनको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेसले सन् २००४ र २००९ को आम निर्वाचन जितेको थियो ।

भारतीय कांग्रेसको इतिहासमा सन् १९४८ यता पार्टीको नेतृत्व सबभन्दा बढी समय गान्धी परिवारले गरेको छ । गान्धी परिवारबाट कांग्रेसको नेतृत्व जवाहरलाल नेहरूले सन् १९५१ देखि १९५४ सम्म गरे । त्यसपछि सन् १९५९ मा इन्दिरा गान्धी करिब एक वर्ष पार्टीको अध्यक्ष बनिन् । त्यसपछि सन् १९७८ मा पुनः अध्यक्षमा दोहोरिएकी इन्दिराले सन् १९८३ सम्म पाँच वर्ष कांग्रेसको नेतृत्व सम्हालिन् ।

इन्दिरापछि राजीव गान्धी १९८५ देखि १९९१ सम्म अध्यक्ष बने । त्यसपछि १९९६ मा सीताराम केशरीले पार्टी अध्यक्ष बनेका थिए । तर सन् १९९८ मा सोनियाले उनलाई हटाएर आफू अध्यक्ष बनेपछि लामो समय पार्टीको नेतृत्वमा बस्ने अवसर प्राप्त गरिन् ।

यसरी भारत स्वतन्त्र भएयता भारतीय कांग्रेसको अध्यक्ष बनेका १६ जनामध्ये ५ जना गान्धी परिवारका व्यक्ति छन् भने ७४ वर्षको दौरानमा करिब ४० वर्ष गान्धी परिवारले कांग्रेसको नेतृत्व गरेको छ ।