दाङ – दाङमा बलात्कारको झुटो आरोप लगाएकी महिला जेल चलान भएकी छन् ।
घोराही १७ की २८ वर्षीया महिलाले हनी ट्र्यापमा पार्न खोजेको भन्दै जिल्ला अदालतका एक कर्मचारीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।
सम्बन्धबिच्छेद पछि अंशमुद्दाका लागि अदालत पुगेकी ती महिलाले अदालतका कर्मचारीले आफूलाई अदालतभित्रै कोठामा जबरजस्ती बलात्कार गरेको आरोप लगाउदै २५ हजार रूपैयाँ नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिनथाले पछि ती कर्मचारीले प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीको अनुसन्धानबाट कर्मचारीलाई हनी ट्र्यापमा पारी अनुचित लाभ लिन खोजेको देखिएपछि सरकारी वकिलले सोही ब्यहोरासहितको महिलाविरूद्ध मुद्दा चलाएको थियो।
जिल्ला अदालतमा न्यायाधीश लोकबहादुर हमालको इजलासले चैत ७ गते भएको सुनुवाइमा ती महिलालाई डेढ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
तर धरौटी बुझाउन नसकेपछि महिला कारागार चलान भएकी हुन् ।
हेलो कर्णाली । १० चैत्र २०८०, शनिबार १७:३९