काठमाडौंमा लुटेको सुन र नगदसहित दाङबाट युवक पक्राउ

काठमाडौंको चाबहिलमा सुन व्यापारीको आँखामा खुर्सानीको धुलो हालेर लुटपाट भएको सुन र नगद एक लाख सहित प्रहरीले एक युवालाई दाङबाट नियन्त्रणमा लिएको छ।

लुटपाटमा संलग्न रहेको आरोपमा घोराही उपमहानगरपालिका ८ घर भई घोराही १५ रतनपुरमा डेरा गरी बस्ने २४ वर्षीय राजेन्द्र सिंहलाई सुन र नगदसहित प्रहरीले पक्राउ गरी काठमाडौं पठाइएको छ। सिंहको साथबाट २२ तोला सुन र एक लाख नगद बरामद गरिएको दाङ प्रहरीको भनाइ छ।

दाङ प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ७ स्थित चाबहिलमा एक जना सुन व्यवसायी पसल बन्द गरेर घरतर्फ जाँदै गर्दा सिंहसहित समूहले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेका थिए।

गत फागुन २५ गते लुटपाटपछि सिंह लुक्न दाङ आएको सूचनाका आधारमा उनको खोजि गरिएको थियो।