भारतमा कोरोना भाइरसको संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन भनेको हो।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले कोरोना संक्रमण दरमा कमी आएसँगै सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै अब मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘विश्वव्यापी रुपमा संक्रमण घटेको भए पनि हामी बसेको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ। त्यसमाथि पनि विशेषतः भारतमा बढिरहेको छ। हाम्रोमा एकदमै चाँडै त्यही अवस्था आउँछ। हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौं।’
पहिलो लहरम भारतमा संक्रमण उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको र दोस्रो लहरमा दुई हप्तामै नेपालमा फैलिएको उनले स्मरण गराए। ‘चुनाव लगायतका कारणले विदेशमा भएका आफन्तहरु घर फर्किंदै हुनुहुन्छ। यस्तो बेलामा जनस्वास्थ्यका मापदण्डको पालना गर्न लगाउने र क्वारेन्टिनमा बस्न लगाउने कुरामा बढी ख्याल गर्नुपर्छ,’ उनले भने।
सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाति रहेको प्रारम्भिक तथ्य फेला परेको बताए।
हेलो कर्णाली । १९ बैशाख २०७९, सोमबार १६:०६