काठमाडौं – नेकपा एमालेको महासचिवमा अध्यक्ष केपी शर्मा ओली निकट तीन नेताले दाबी गरेका छन् । उक्त पदमा उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीले महासचिवमा दाबी गरेका हुन् ।

सौराहास्थित पार्क सफारी रिसोर्टमा बिहीबार राति अध्यक्ष ओलीसहित बसेको नेताहरूको बैठकमा तीनैजना नेताले महासचिवमा दाबी गरेका हुन् । एउटै पदमा तीनजनाको दाबी परेपछि ओली समूह नै उपसमूहमा विभाजन भएको छ।
पोखरेललाई उपाध्यक्ष ईश्वर पोखरेल र विष्णु रिमालले साथ दिएका छन् भने पौडेललाई सुवास नेम्वाङलगायतको साथ छ । महाधिवेशन उद्घाटनको पूर्वसन्ध्यामा आफ्नै समूहमा दुई-तीन धार देखिएपछि अध्यक्ष ओली थप दबाबमा परेका छन् ।
महासचिवमा मात्र होइन प्रायः सबै पदमा आकांक्षी धेरै देखिएका छन् । त्यसैले महाधिवेशन उद्घाटन सुरु हुनै लाग्दासम्म पनि नेतृत्व चुनावबाट छानिन्छ कि सर्वसम्मत हुन्छ भन्ने निश्चित भएको छैन । उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले सर्वसम्मति गराउन सकसमा परेको ओलीलाई आफ्नो समूहमा देखिएको दुई-तीन धारले थप मुस्किल पार्ने देखिन्छ । पदाधिकारीका लागि ३ दर्जनभन्दा बढी नेता आकांक्षी छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा ओलीनिकट नेताहरूकै मुख्य प्रतिस्पर्धा छ ।
अधिकांश प्रतिनिधि भने सर्वसम्मत नेतृत्व चयनको पक्षमा देखिएका छन् । त्यसो त नवौं महाधिवेशनमा जस्तो यसपटक समूहगत प्रतिस्पर्धा खुला गरिएको छैन । तर पदाधिकारीमा सर्वसम्मत नहुँदा आफ्नै समूहमा रहेका नेताहरूबीच पनि ध्रुवीकरण हुने जोखिमले अध्यक्ष ओलीलाई अप्ठ्यारोमा पारेको छ ।

हेलो कर्णाली । १० मंसिर २०७८, शुक्रबार ११:५०