काठमाडौं – विदेशमा फिल्म सुटिङको लागि नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग गरेर निवेदन दिइएको खुलेको छ। ‘तिम्रो नजर’ नामको फिल्म सुटिङ नर्वेमा गर्नुपर्ने भन्दै भारतमा रहेको नर्वेजियन दूतावासमा फिल्म टिमले निवेदन दिएको थियो।
निवेदन दिएको केही दिनपछि दूतावासले पर्यटन बोर्डबाट जानकारी लियो तर, बोर्डले कुनै पनि फिल्म सुटिङको लागि अनुमति नमागेको जानकारी दिएपछि नक्कली कागजपत्र प्रयोग खुलेको हो।
पर्यटन बोर्डले अनुमति नलिएको र नक्कली कागजपत्र भनेपछि दूतावासले भिसा क्यान्सिल गरेको हो।
पर्यटन बोर्डको पत्र नम्बर ३०९ – २०७८/७९ मा जुलाई २० मा दूतावासमा भिसाको लागि आवेदन पेस गरिएको थियो। फिल्म युनिटका १४ जना कलाकारका लागि भिसा आवेदन गरिएको छ जसमा नायिका केकी अधिकारी, हरिश सिग्देल (आर्यन) लगायत १४ जनाको नाम रहेको छ।
फिल्म ब्लु बर्ड एचडी प्राइभेट लिमिटेडले बनाउन लागेको जनाइएको फिल्मका निर्देशकमा दीपकप्रसाद आचार्य र निर्मातामा रोशन पराजुली रहेका छ।
यसरी आफ्नो कार्यालयको लेटरप्याड र नक्कली हस्ताक्षर प्रयोग भएकाले पर्यटन बोर्डले केस नेपाल प्रहरीलाई दिएको छ।
सरकारी पत्र दुरुपयोग मात्र होइन, फिल्मका नाममा मानव तस्करी समेत हुनसक्ने आशङ्कामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ।
भिसाको लागि आवेदन दिएको फिल्म कम्पनीको नाम निर्माता संघमा दर्ता समेत नभएको भेटिएको छ।
हेलो कर्णाली । ७ भाद्र २०७९, मंगलवार १७:३६