जाडो मौसममा देखिने स्वास्थ्य समस्या र जोगिने उपाय

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दो क्रममा छ। जाडोमा अन्य मौसममा भन्दा बालबालिका र वृद्धवृद्धालाई बढि मात्रामा स्वास्थ्य समस्या हुने गर्दछ।

जाडोमा देखिने स्वास्थ्य समस्या:

हाइपोथर्मिया

शरीरमा तापक्रमको मात्रा कम हुनुलाई हाइपोथर्मिया भनिन्छ। यो समस्या आउँदा जीउ काम्ने, दिमाग सुस्त हुने, मानिसको समवेदना कम हुने गर्दछ।

हाइपोथर्मियाको मात्रा बढे मानिस बेहोस नै हुने र बेहोसीमै अस्वभाविक ब्यवहार देखाउने गर्दछ। यदि हाइपोथर्मिया बढेमा मुटुको धड्कन नै रोकिने र बिरामीको ज्यानै जानेसम्म हुनसक्छ।

हाइपोथर्मिया हुदाँ सामान्य भन्दा बढि न्यायो लुगा लगाउनु पर्छ। सकेसम्म तत्काल न्यायने स्थानमा बस्ने र शरीरलाई तातो बनाउनु पर्दछ। समस्या बढेमा अस्पताल जानु पर्दछ।

फ्लु

इन्फ्लुएन्जा भाइरसबाट लाग्ने सरुवा रोगलाई फ्लु भनिन्छ। विशेषत मनसुनको मौसम वा जाडो महिनाको सुरुवातमा मौसमी फ्लु हुने गर्दछ। संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा अर्को व्यक्तिमा फ्लुको संक्रमण सर्ने गर्दछ।

फ्लुबाट बच्न सकेसम्म सार्वजनिक स्थलमा नजानु नै बुद्धिमानी हुन्छ। संक्रमित व्यक्तिसँग नजिक नहुने, बाहिरबाट आएपछि साबुन पानीले राम्ररी हातखुट्टा, मुख धुने गर्नुपर्दछ। संक्रमित व्यक्तिले पनि हाछ्युँ गर्दा मुख छोपेर मात्र गर्नुपर्छ। फ्लुको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउनु पर्दछ।

रुघाखोकी

चिसो मौसममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी लाग्ने सम्भावना बढि हुन्छ। यस्तोमा रुघाखोकी सहित एलर्जी पनि हुन सक्छ।

रुघाखोकीबाट बच्न चिसोबाट बच्नु नै सबैभन्दा ठूलो उपाय हो। बाहिर निस्कदा मास्क लगाउने गर्नुपर्दछ। साधारण रुघाखोकी भएमा घरमै उपचार गर्न सकिन्छ। तर नाकबाट पहेंलो सिंगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीमा समस्या देखिने वा कानमा समेत समस्या भएमा निकै सावधानी अपनाउनु पर्दछ। चिसो मौसममा बालबालिकालाई उच्च ध्यान दिनुपर्छ।

हिउँले खाने

जाडो मौसममा हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा हिउँ पर्छ। अहिले पनि हिमपात जारी छ। यस्तोमा त्यस भागमा रहने वा बाहिरबाट घुम्न जानेहरुलाई हिउँले खाने समस्या हुनसक्छ। लामो समयसम्म हिउँ वा चिसो पानीको सम्पर्कमा रहे यो समस्या हुन सक्छ।

हिउँले खाने समस्याबाट बच्न शरीरको कुनै पनि अंगलाई हिउँ वा चिसो पानी नछुनु नै पहिलो उपचार हो। विशेषगरी हातखुट्टा, औलाहरु, अनुहार, नाक, कान आदिलाई चिसोबाट बचाउनु पर्दछ। असावधानीका कारण हिउँले धेरै खाएको भए त्यस भागलाई शल्यक्रिया गरी फाल्नुपर्ने अवस्था पनि आउन सक्छ।

श्वासप्रश्वास

चिसो बढेसंगै केहि मानिसमा श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने गर्दछ। यसको सबैभन्दा छिटो प्रभाव बिरामी, वृद्धवद्धा, साना बालबालिका तथा सुत्केरीमा पर्न जान्छ। श्वासप्रश्वास सम्बन्धी रोग लाग्नुको मुख्य कारण प्रदूषण, धुम्रपानसंगै चिसो मुख्य कारण हो।

श्वासप्रश्वास सम्बन्धी रोगमा दम, ब्रोङकाइटिस र निमोनिया लगायतका समस्या हुनसक्छ।

श्वासप्रश्वास सम्बन्धी रोगबाट बच्न सम्भव भएसम्म धुलो, धुवाँ तथा प्रदूषणबाट टाढा बस्नु पर्छ। बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ। धुम्रपान, चुलोको धुवाँ तथा प्रदुषणबाट पनि बच्नु पर्छ।

हृदयघात र मुटुरोग

चिसो मौसममा हुन सक्ने अर्काे जटिल समस्या भनेको हृदयघात र मुटुरोग हो। मुटुमा रक्तप्रवाह अचानक बन्द भएमा हृदयघात हुने गर्दछ। यस्तो भएमा मुटुमा असर पर्ने र असर परेको भागले काम गर्न छाड्ने सम्मको समस्या निम्तन्छ।

हृदयघातबाट बच्न चिसोबाट बच्नु पर्छ। यसका साथै वजन कम गर्ने, बढि चिल्लो, बोसो वा मसलेदार खाना नखाने गर्नुपर्दछ। चिसो मौसममा शरीर कममात्रामा सक्रिय हुने भएकाले शरीरलाई सक्रिय राख्ने वा नियमित केहिबेर शरीरिक व्यायाम गर्नुपर्दछ।

कार्बनमनोअक्साइड पोइजनिङ

चिसो मौसममा केहि मानिसहरु सबै झ्यालढोका बन्द गरेर आगो ताप्ने गर्दछन्। यसरी कतैबाट हावा नछिर्ने गरी कोठा बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनमोनोअक्साइडको मात्रा बढ्न जान्छ। यसले पोइजनको रुपमा शरीरमा प्रवेश गर्दछ। र मानिसको मृत्यु पनि हुन सक्छ।

कार्वनमनोअक्साइड पोइजनिङबाट बच्न कोठा भित्र आगो वा हिटर ताप्दा कोठाको कुनै एक भाग खुल्ला राख्नु पर्दछ। केहिबेर आगो वा हिटर तापेपछि कोठा बाहिर जाने र अन्य काममा सक्रिय हुनुपर्छ।

जोर्नीको दुखाइ

चिसो मौसममा देखापर्ने मुख्य समस्या मध्ये एक हो, जोर्नीको दुखाई। विशेषतः वृद्ध मानिसलाई देखापर्ने यो समस्या जाडो बढेसँगै शुरु हुने गर्दछ। बाहिरी तापमान घटबढ हुदाँ जोर्नीका नसा समेत खुम्चिने गर्दछन् र रगतमा पनि तापक्रम घट्दछ। जसका कारण जोर्नीहरू कडा हुने र दुख्ने गर्दछ।

चिसो मौसममा जोर्नीको दुखाईबाट बच्न शरीरमा एक समानको तापमान बनाइ राख्नु पर्दछ। कतिपय मानिस शरीरको माथिल्लो भाग अर्थात जिउमा न्यायो लुगा लगाएपनि खुट्टामा भने साधारण पेन्ट, सारी वा पातलो लुगा मात्र लगाउने गर्दछन्। तर शरीरको तल्लो भागमा पनि न्यायो हुने गरी टाउजर वा पर्याप्त तातो हुने कपडा लगाउने गर्नु पर्छ।

छाला सुख्खा

चिसो मौसम लागेसंगै हाम्रो शरीरका छालामा सुख्खापना बढ्ने गर्दछ। किनकी चिसो मौसम छालाका लागि अनुकूल समय होइन। बाहिरी वातावरण शरीरको को तापक्रम भन्दा कम हुदाँ शरीरको ताप वातावरणले तान्न थाल्छ र छाला सुख्खा हुने गर्दछ।

छालामा सुख्खापना आउन नदिन जाडो मौसममा पर्याप्त न्यायो लुगा लगाउनु पर्छ। शरीरलाई ढाकेर न्यायो बनाउने र तातो तथा झोलिलो खानेकुरामा ध्यान दिनु पर्छ। कुनै पनि ज्याकेट वा उनीको स्विटर लगाउँदा शरीरमा टासिने कपडा सुतिको हुनुपर्छ। यदि छाला धेरै सुख्खा भए मोइस्चराइजर क्रिम लगाउनु पर्दछ।

नोरोभाइरस/विन्टर डाइरिया

जाडो मौसममा नोरोभाइरसको सक्रियताका कारण केहि मानिसमा बान्ता हुने तथा झाडापखाला लाग्ने गर्दछ। जसलाई विन्टर डायरिया पनि भनिन्छ। संक्रमित व्यक्तिको संसर्गबाट सर्ने विन्टर डाइरीया संक्रमित खाना, वस्तु वा सतह छुँदा पनि सहजै सर्न सक्छ।

विन्टर डाइरियाबाट बच्न खाना पकाउँदा साबुनपानीले राम्ररी हात धुने, संक्रमित व्यक्तिको संसर्गमा नआउने, एकअर्का कपडा वा सामान प्रयोग नगर्ने, संक्रमित व्यक्तिले गरेको बान्ता वा दिशापिसाब नसोर्हने र सोहर्नु परे पञ्जा र मास्क लगाउने र तातोपानि सहित साबुनपानिले मिचिमिचि हात धुने गर्नुपर्दछ।

नेपालसमय बाट साभार