नेकां रुकुम पूर्वको सभापतिमा केशरमान रोका सर्वसम्मत

रुकुम पूर्व – कांग्रेस रूकुमपूर्वको जिल्ला सभापतिमा केशरमान रोका पुन: निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनबाट रोका जिल्ला सभापतिमा सर्वसम्मत चयन भएको कांग्रेसले जनाएको छ।

उनी निर्विरोध जिल्ला सभापति चयन भएको निर्वाचन अधिकृत ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए । ‘जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भइसक्यो । अब केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको टुंगो लाग्न बाँकी छ,’ उनले भने ।

रोका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट पूर्व सहायक मन्त्री समेत हुन्।

यस्तै, जिल्ला उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाममगर, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी तथा सहसचिवमा धनप्रताप बुढामगर र खडकबहादुर घर्ती चयन भएका छन् ।

१४ औं महाधिवेशन अन्तर्गत काङ्ग्रेसले जिल्ला अधिवेशन तथा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन सुरू गरेको छ।