कर्णाली प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा २८ खेलमा भाग लिने

गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २८ खेलमा भाग लिने भएको छ । आगामी जेष्ठ २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट विभिन्न २८ खेलमा सहभागिता गराउने गरी तयारी गरेको कर्णाली प्रदेश खेलकुद विकास परिषदले जनाएको छ ।

कर्णाली प्रदेशमा विभिन्न खेलका खेलाडीहरु छनोटको प्रक्रिया चलिरहेको छ । छनोट भएका खेलाडीहरुलाई भने आगामी जेष्ठ २ गते देखि बन्द प्रशिक्षणमा राखिने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराइने खेलका खेलाडीहरूको बन्द प्रशिक्षणको लागि भने कर्णाली प्रदेश सरकारले रु.१ करोडको बजेट व्यवस्थापन गर्ने भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र कर्णाली प्रदेश खेलकुद विकास परिषदका बिच सहभागिता जनाउने खेलका खेलाडीहरूको बन्द प्रशिक्षण र अन्य आवश्यक तयारीका लागि आवश्यक बजेटको विषयमा पनि छलफल भएको थियो ।

पदक विजेता खेलाडीहरुलाई प्रदेश सरकारले प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने छ। प्रदेश सरकारले पुरस्कृत गर्ने विजयी खेलाडीहरुमा स्वर्ण पदक विजेतालाई दुई लाख, रजत पदक विजेतालाई १ लाख ५० हजार र कास्य पदक विजेतालाई एक लाख प्रोत्साहन पुरस्कार दिइनेछ ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको लागि कर्णालीले गण्डकी प्रदेशबाट झण्डा लिने भएकोले कर्णाली प्रदेशबाट खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पत्रकार गरी कर्णाली ६ सय जनाको सहभागिता रहने छ ।