दुई मुख्यमन्त्रीको एकै दिन सपथ: कर्णालीमा शाही र प्रदेश १ मा राई

कर्णाली प्रदेशका नव नियुक्त मुख्यमन्त्री जीवनबहादुर शाही र प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले आज एकै दिन प्रदेश प्रमुख बाट पद तथा गोपनियताको सपथ लिनु भएको छ ।

कांग्रेस नेता शाहीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र नेकपा एकीकृत समाजवादीका नेता राईलाई प्रदेश नम्बर १ का प्रदेश  प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार आजै मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो  ।

कर्णालीमा मन्त्रिपरिषद विस्तार हुन सकेन, प्रदेश नम्बर १ मा ६ सदस्यीय मन्त्रीमण्डल

कर्णालीमा मुख्यमन्त्री शाहीले मंगलबार नै सानो आकारको मन्त्रिपरिषद्समेत बनाउने प्रयास गरे पनि  सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डाका विषयमा सहमति नजुटे पछि शाही एक्लैले शपथ ग्रहण गर्नुभएको हो  ।

मुख्यमन्त्री शाहीले माओवादी केन्दका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेको भए पनि माओवादी केन्द्रका नेता शाहीले दलभित्र छलफल भइनसकेकाले मन्त्रीको नाम पठाउन नसक्ने जवाफ दिएको कांग्रेसका एक सांसदले जानकारी दिनुभयो  ।

यस्तै, प्रदेश नम्बर १ मा भने मुख्यमन्त्री  राईले चार मन्त्री र एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरूमा इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री, हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र जयराम यादव सामाजिक विकास मन्त्री बन्नुभएको छ ।

यस्तै विष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि आजै शपथ लिनुभएको छन् ।

कर्णालीमा यस अघि नेकपा माओवादी केन्द्रको नेतृत्वमा र प्रदेश नम्बर १ मा नेकपा एमालेको नेतृत्वमा प्रदेश सरकार रहेका थिए ।