चौरजहारीको भाईरल बाटो, सुधारको जिम्मेवारी कसको ?

फोटो : सामाजिक संजाल

तपाईं सामाजिक संजालमा सक्रिय हुनुहुन्छ र रुकुम पश्चिम चौरजहारी आसपासका व्यक्तिहरु तपाईको फेसबुकमा साथी हुनुहुन्छ वा चौरजहारी बाट संचालन हुने फेसबुक ग्रुप, पेजमा जोडिनु भएको छ भने एउटा कुरा ख्याल गर्नु भएको होला, हल्का मात्रै पानी पर्यो भने पनि राताम्य भै हाल्ने अनि मान्छे हिड्दा चिप्लेटी खेल्नु पर्ने अवस्थाको चौरजहारी नगरपालिका वडा नं  १ को मुख्य बजारको बाटोको तस्बिर । उक्त बाटोको तस्बिर चौरजहारीमा विकासको नमुना भन्दै पानी परेको दिन सामाजिक संजालमा छ्यापछ्याप्ती देख्न पाईन्छ।

फोटो : सामाजिक संजाल

लामो समय सम्म पनि सम्बन्धित निकायबाट जनगुनासोको सुनुवाई नहुदा सर्वसाधारणका असन्तुष्टि अनि आक्रोश सामाजिक संजालमा देखिनु स्वभाविक नै हो। आखै अगाडि बाटोको त्यस्तो दुर्दशा देख्दा पनि सरोकारवालाले सुधारमा चासो नदिनु चाहिँ पक्कै दुखद बिषय हो ।

ईलाका प्रहरी कार्यालय, राष्ट्रिय बाणिज्य बैंक , नेपाल बैंक  लिमिटेड, लक्ष्मी बैंक  लगायत अन्य कार्यालय र घर पसल पुग्ने एकमात्र बाटोको दुर्दशा हुदा पनि सरोकार वाला निकायले एकले अर्कोको जिम्मेवारी देखाउदै पन्छिनु पनि लाज मर्दो बिषय भएको छ। बैंकिंग तथा अन्य कार्यको लागि दिनहु सयौको संख्यामा सर्वसाधारणको आवत जावत हुने बाटो भए पनि पानी परेको दिन चिप्लेटी खेल्दै हिड्नु पर्ने अवस्था छ,बिद्यालय जाने बाटो समेत त्यही भएको हुदा बर्षाको समयमा हरेक दिन जसो बिद्यार्थीको बिजोग देख्नु परेको निर्माण व्यावसायी समेत  रहनु भएका स्थानीय रिम  प्रसाद शर्मा ‘हिमाल’ बताउनु हुन्छ ।

दर्जनौ पटकका फोन कयौं पटक भेटेर र लिखित जानकारी र सुधारका लागि निवेदन दिदा समेत सम्बन्धित निकाय उदासिन रहेको छ, जति कोसिस गर्दा पनि आश्वासनको थुप्रो बाहेक अरु केही नपाईएको चौरजहारी उध्योग बाणिज्य संघका पूर्व अध्यक्ष तेज बिष्ट ‘ओके’ बताउनु हुन्छ । कति पल्ट त हामी आफैले व्यक्तिगत खर्चमा मोरङ बालुवा ल्याएर हालेका छौ तर हालत फेरि भोलि पल्ट उस्तै हुन्छ। सरोकारवाला निकाय कानमा तेल हालेर बसे जनताले मात्रै कति खर्च गर्न सक्छ्न र ?  राज्यका निकाय सङ्ग बाटो मर्मतका लागि पटक पटक आग्रह गर्दा  थाकिसकेको र प्रतिफल शून्य भएको गुनासो पूर्व अध्यक्ष बिष्ट सुनाउनु हुन्छ ।

फोटो : सामाजिक संजाल

प्लटिङ् को  बाटो पहिले देखि नै साघुरो भएको र ढल निकासको सहजता नहुदा बर्षात को समय र सानो पानी पर्दा मात्रै पनि समस्या आउने गरेको छ। स्थानीय सरकार र बाटो मर्मतको जिम्मेवारी लिनु पर्ने नयाँ शहर आयोजना बिच समन्वय नहुदा हरेक पल्ट सर्वसाधारणले सास्ती भोग्दै आईरहेका छन ।

देशकै दश  नमुना शहर मध्यको चौरजहारी र चौरजहारीकै मुख्य बजारको बाटोको सुधार तथा मर्मतमा सरोकारवाला निकाय उदासिन रहनु पक्कै पनि सुखद पक्ष हैन। सल्यान र जाजरकोटका जनताको पनि प्रमुख बजार रहेको चौरजहारीको मुटुमै रहेको बाटोको यस्तो दुर्दशाले पक्कै पनि राम्रो सन्देश दिदैन। पक्ष विपक्ष या राजनितिक खिचातानीमा नलागी स्थानीय सरकार र सरोकारवाला निकाय जिम्मेवार बने यो बाटोले चाडै मुहार फेर्नेछ र सामाजिक संजालमा आउने गुनासो र आक्रोश, धन्यवादमा परिणत हुनेछन।