नेपाल तरुण दल चौरजहारीको दोस्रो अधिवेशन उद्घाटन

नेपाल तरुण दल चौरजहारीको दोस्रो नगर अधिवेशन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । चौरजहारी नगरपालिका वडा नं १मा अधिवेशनको उद्घाटन भव्य कार्यक्रमका बीच नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओली र पूर्व सहायक मंत्री तथा नेपाली कांग्रेसका नेता गोपाल जी जंग शाहले संयुक्त रुपमा  गर्नु भएको थियो ।

लामो समय देखि अधिवेशन नहुदा पार्टीका भातृ संस्थाहरु चलायमान हुन् नसकेको भन्दै नेपाली कांग्रेस रुकुम पश्चिमको गत फाल्गुन २० मा सम्पन्न बैठकले भातृ संस्थाका समितिहरु पुर्नगठन गर्ने निर्णय गरेको थियो। जिल्ला कार्य समितिको निर्णय बमोजिम त्रिवेणी गाउँपालिका, मुसिकोट नगरपालिकामा हुदै आज चौरजहारी नगरपालिकामा तरुण दलको नगर अधिवेशन आयोजना गरिएको हो ।

उद्घाटन कार्यक्रम बोल्दै नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले स्थानीय निर्वाचनका बिषयमा  केन्द्रमा जे जस्तो रुपमा गठबन्धन भएपनि रुकुममा स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुने बताउनु भयो। रुकुममा हुने स्थानीय तहको  गठबन्धन काठमाडौंमा बसेर गर्न नसकिने बताउदै ओलीले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्नु परे जिल्ला या स्थानीय तहमै निर्णय गरिने बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि खडक डाँगीले कमिसनको लोभमा गरिने निर्माणलाई विकास भन्न नमिल्ने बताउदै चेतनाको स्तरमा सुधार नभए सम्म साचो रुपमा विकास नहुने बताउनु भयो । डाँगीले चौरजहारीवासीले  विगतमा माओबादीलाई जिताएर गल्ती त गरेको  तर अब गल्तीलाई सुधार गर्नु अनिवार्य भएको बताउनु भयो । डाँगीले भन्नु भयो ” कोहि व्यक्ति  र कोहि पार्टी कांग्रेसका दुश्मन हैनन स्थानीय सरकारमा हुने भ्रष्टाचार  समाजमा देखिने गरिबी, अशिक्षा र पछौटेपन कांग्रेसका दुश्मन हुन तीनलाई परास्त गर्न अवको स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन एकताबद्द भएर लाग्नु आजको आवश्यकता हो ।”

नेपाल तरुण दल चौरजहारीका अध्यक्ष यदु कुमार आचार्यको सभापतित्व र कांग्रेस नेता  गोपाल लामिछानेले संचालन गर्नु  भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तिलक भण्डारी, महाधिवेशन प्रतिनिधि मन मोहन शाह, तुफैल अहमद खाँ, नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य बलबीर गोसाई,  क्षेत्रीय सभापति भद्र बहादुर बिष्ट, नेपाली कांग्रेस चौरजहारीका सभापति प्रेम बहादुर ओली, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष मनिषा भण्डारी, तरुण दल जिल्ला अध्यक्ष लोकेन्द्र केसी, तरुण दल जिल्ला उपाध्यक्ष एवं प्रदेश प्रतिनिधि जितेन्द्र बुढाथोकी लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुका साथै आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने प्रतिबद्धता गर्नु  भएको थियो ।

कार्यक्रम सुरु हुनु अघि तरुण दलका नेता कार्यकर्ता नेपाल तरुण दल अंकित टी- शर्ट लगाएर चौरजहारी नगरपालिकाको चौफा बजार, बिजयश्वरी, नयाँ बजार, एरपोर्ट लगायतका क्षेत्रबाट “चौरजहारी कसको- कांग्रेसको”, “यसपालीको चुनाव- साच्चैको बदलाव” लगायतका नारा लगाउदै कार्यक्रम स्थल पुगेको थिए ।उद्घाटन समारोहमा कलाकार हरुले सांस्कृतिक प्रस्तुती प्रस्तुत गर्नुका साथै माओबादी केन्द्र परित्याग गरि नेपाली कांग्रेस प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।

उद्घाटन कार्यक्रम सम्पन्न गरेको तरुण दलले बन्द सत्र भने भोली मात्रै गर्ने भएको छ । अध्यक्ष लगायत पदाधिकारीमा धेरै जना आकांक्षी भएको र चुनाव लक्षित अन्य छलफल पनि गर्नु पर्ने भएकोले आज समय अभावका कारण बन्द सत्र भोली सारिएको नेपाल तरुण दल चौरजहारीका अध्यक्ष यदु कुमार आचार्यले जानकारी दिनु भयो ।

तरुण दलले गर्यो सरसफाई 

उद्घाटन समारोह समाप्ती पछी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तुफैल खाँ र तरुण नेता केशवराज गिरीको अगुवाईमा नेपाल तरुण दल चौरजहारीले  कार्यक्रम स्थलमा भएको फोहोर सरसफाई गरेको छ । सार्वजनिक क्षेत्रमा कार्यक्रम गरिसकेपछि निस्केको फोहोरको व्यबस्थापन गर्ने संस्कारको विकास होस र अरुलाई पनि सिकाई होस् भन्ने हेतु कार्यक्रम स्थल सरसफाई गरिएको  महाधिवेशन प्रतिनिधि खाँले बताउनु भयो ।