‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ सुरक्षा समितिको बैठकबाट पारित

स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरिएको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो नीति पारित गरेको हो ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेल, गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलसहितको सहभागिता थियो ।

निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेकोले निर्धारित स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीति अनुरुप सम्पन्न गर्न सजिलो हुने र निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सहयोग पुग्ने बताइएको छ ।

बैठकमा सदस्यहरूले वर्तमान सुरक्षा अवस्था, निर्वाचन सम्पन्न गर्न गर्नुपर्ने कार्य, आगामी सुरक्षा चुनौती र ती चुनौतीको सम्बोधन गर्न अपनाउनुपर्ने रणनीतिबारे धारणा राखेका थिए ।

उक्त बैठकमा शुक्रबारबाट हुन लागेको चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो ।