काङ्ग्रेसले भन्यो देशव्यापी हैन स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्न सकिने छ ।

प्रमुख सत्तारुढ दल नेपाली काङ्ग्रेसले आशन्न स्थानीय निर्वाचनमा देशव्यापी रुपमा गठबन्धन नगर्ने भएको छ। पार्टी कार्यालय सानेपामा शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठकले देशव्यापी चुनावी गठबन्धनको सट्टा ‘स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेल गर्न सक्ने’ सैद्धान्तिकमात्रै निर्णय गरेको छ, गठबन्धनको आवश्यकता पहिचान र त्यसबारे निर्णय गर्ने जिम्मेवारी विधानको उम्मेदवार चयन गर्ने अधिकारअनुसार तल्ला तहलाई नै दिइएको छ । यो निर्णयपछि अब केन्द्रीय समितिले छ वटा महानगरपालिकामा मात्रै अन्य दलसँग तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय गर्न पाउनेछ ।

काङ्ग्रेसले निर्णयमा भनेको छ “स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्था लाई अझै सवल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ ।”

तीन दिनसम्म भएको चुनावी गठबन्धनबारेको छलफलमा शेखर कोइराला समूहका नेताहरूले गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै चर्को विरोध गरेका थिए । बैठकमा देशभर चुनावी अभियानका लागि खटिएका केन्द्रीय प्रतिनिधि र प्रदेश सभापतिहरूले पनि चुनावमा कांग्रेस एक्लै लड्नुपर्ने धारणा राखेका थिए ।