काँग्रेस भ्रातृ संस्थामा तदर्थ समिति घोषणाको तयारी, यी हुन् दाबेदार …

नेपाली काँग्रेसले भंग गरिएका १० वटा भ्रातृ संस्थामा नयाँ कमिटी घोषणाको तयारी थालेको छ । फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीभित्र सबै पक्षसँग परामर्श गरेर फागुन मसान्तभित्र तदर्थ समिति गठनको निर्णय गरेको थियो ।

तीन तहको निर्वाचनलाई मध्यनजर गरी स्थानीय तह निर्वाचनअघि भ्रातृ संस्थालाई क्रियाशील बनाउन तदर्थ समिति गठनको तयारी गरिएको नेताहरुको भनाइ छ ।

सभापति शेरबहादुर देउवाले ढुंगाना नेतृत्वको कमिटी घोषणा गर्दा ०७५ माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले १२ औं महाधिवेशनमा भाग लिन पाउने उल्लेख छ । उक्त निर्णय कार्यान्वयन गरेर ढुंगाना नेतृत्वको ब्याचलाई नेविसंघबाट विदा गर्ने तयारी छ ।

सोही अनुरुप प्रेमराज जोशी, प्रकाश घिमिरे, रत्नहरि ढुंगेल, नवराज त्रिपाठी, रुपा शर्मा, शान्त सिवाकोटी, शैलेन्द्र शर्मा पौडेल, पुजन गन्दर्भ, मेघा शाही लगायत पदाधिकारीका बलिया आकांक्षी हुन् ।

तर ०७८ फागुन ६ गतेको केन्द्रीय कार्यसम्पादन समितिबाट नेविसंघ तदर्थ समिति उमेर हदको व्यवस्था अनुरुप गठन गर्ने निर्णय भएको छ । तदर्थ समिति गठन गर्दा नेविसंघमा ३२ वर्षे उमेर हद तोकिएको छ । त्यसैले तत्कालीन ३२ वर्ष र तत्कालको ३२ वर्ष मुनिका विद्यार्थी नेताहरुको आफू अनुकूलको लबिङ छ ।

तर तदर्थ समिति गठनमै ३२ वर्षे उमेर हद लागू हुँदा शीव रिमाल, निरञ्जन थापा, सुशील भट्ट, मनीषजंग थापा, गीता गुरुङ, प्रेमबहादुर शाही, दुजाङ शेर्पा, सागर परियार लगायतको दाबेदारी रहने छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्मा तत्कालको ३२ वर्ष उमेर हद लागु गरेर जानुपर्ने पक्षमा छन् । तर पार्टी सभापति देउवा र अन्य पदाधिकारीको मुड बुझेर निर्णयमा पुग्ने उनीहरुको तयारी छ ।

नेविसंघपछि मुख्य मानिएको तरुण दल र महिला संघमा पनि नेतृत्वका लागि दौडधुर तीव्र छ । नेविसंघको राजनीतिबाट बाहिरिएका नेताहरुलाई तरुण दलमा समेट्ने प्रयास तयारी छ ।

तरुण दलमा विद्वान गुरुङ, पुष्पकुमार शाही, सरोज थापा, लाओस राई, शुभराम बस्नेत नेतृत्वका आकांक्षी देखिएका छन् ।

महिला संघमा धना खतिवडा, विनिता अधिकारी, प्रसिस महरा, हरिप्रभा खड्की, विजया केसी र उषा रावत मिश्रको नाम चर्चामा छ ।

यस्तै नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिमा पनि नयाँ कमिटी घोषणाको तयारी भइरहेको छ ।

पटक पटक म्याद थप्दा पनि महाधिवेशन गराउन नसकेपछि फागुन ३ मा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १० वटा भ्रातृ संस्था भंग गरेको थियो । अब करिब डेढ वर्षका लागि तदर्थ समिति बनाउन लागिएको बुझिएको छ ।

अहिले बन्ने तदर्थ समितिलाई तीन तहको निर्वाचनपछि महाधिवेशन गराउने म्यान्डेट दिइने छ । विधानमा आधा कार्यकाल उनीहरुले नेतृत्व गर्न पाउने देखिएको छ । संशोधित विधानमा सबै भ्रातृ संस्थाको कार्यकाल ३ वर्ष तोकिएको छ ।