सल्यानको छत्रेश्वरीमा डेढ करोड बढी लगानीमा शंख पार्क निर्माण

सल्यानको छत्रेश्वरी गाउँपालिकाले डेढ करोड बढी लगानीमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि शंख पार्क निर्माण गरेको छ। उक्त शंख पार्कमा निर्मित शंखको आकृति नेपालकै सबभन्दा ठूलो आकारको भएको दाबी गरिएको छ।

पार्कभित्रै परम्परागत मौलिक प्रकृतिको खरले छाएको झुपडी पनि निर्माण गरिएको छ। चर्चित धार्मिकस्थल शंखमूल शारदा पुलदेखि झन्डै ४ सय मिटर जति उत्तर पश्चिम राप्ती राजमार्गको नजिकै अवस्थित छ।

स्रोतका अनुसार शंख मात्रै निर्माण गर्न ३१ लाख बढी खर्च भएको छ। काठमाडौंको शंखमूलमा निर्मित शंखभन्दा सल्यान शंखमूलको आकार ठूलो छ। शंख पार्क निर्माण गरिएपछि त्यहाँ सर्वसाधारणको भिड लाग्ने गरेको छ।

छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले पौराणिक धार्मिक ग्रन्थहरूमा उल्लेखीत शंखमूलको अस्तित्व जोगाइ राख्न र शंखमूललाई प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न गाउँपालिकाबाट डेढ करोड बढी खर्चेर शंखपार्क निर्माण गरिएको बताए।

छत्रेश्वरी गाउँपालिकाले नै वडा नं. ६ को लान्टीमा दश लाख खर्चेर १०८ शिवलिंग समेत निर्माण गरिएको छ।

सल्यानमै नेपालकै प्रमुख महत्वपूर्ण धार्मिकस्थल मध्यको खैराबाङ भगवती देवीको मन्दिर पनि पर्दछ। जहाँ निसन्तान दम्पतीले सन्तान प्राप्तीको वर माग्ने लगायत अन्य  मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनहरु पुग्ने गर्छन्।