नेकपा (एमाले) का स्थायी समिति सदस्य रामबहादुर थापाले एमाले नेपालका श्रमजीवीको पार्टी भएको बताएका छन्। बिहिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बागमती प्रदेशको इञ्चार्जसमेत रहेका थापाले एमाले जनता र श्रमजीवीको पार्टी भएको भन्दै यसमा सबै जनताहरूको अग्रसरता हुने बताए।

बादलले देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने दाबी गर्दै परमादेशमा बनेको सरकारलाई प्रतिगामी कदमको रूपमा अर्थ्याए। दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भएको भन्दै उनले एमालेले प्रतिगमन अन्त्य गरेरै छाड्ने बताए। बादलले माधवकुमार नेपाल धेरै दिन नटिक्ने र एमालेबाट अलग भएसँगै दक्षिणपन्थ पराजित भएको जिकिर गरे। उनले दक्षिणपन्थीमाथि एमालेको विजय भएको पनि जिकिर गरे। ‘उनीहरूको अवस्था धेरै दिन टिक्नेवाला छैन । समाजवादी धारालाई विकसित गर्दै दक्षिणपन्थी र पुँजीपति धारविरुद्ध सदन र सडकमा संघर्ष अघि बढाउँदै विजय हासिल गर्छौं,’ उनले भने।
नेकपा एमालेको संगठन संरचना २०७५ जेठ २ मा फर्किएको बताइए पनि एमालेका अधिकांश कार्यक्रममा त्यसको ‘कार्यान्वयन’ नभएको पाइन्छ। पार्टी भित्र भएको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनलाई लैजाने भनिए पनि त्यसको पूर्ण पालना भने भएको छैन।

हेलो कर्णाली । ३१ भाद्र २०७८, बिहीबार १५:३१