काठमाडौं – दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ ।
नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।
आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने देखिन्छ ।
नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । दक्षिण अफ्रिकामा नेपालको ब्याटिङ चल्न सकेको छैन ।
विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएको छ । दुबै खेलमा नेपालले हारेको छ । नेपाल सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले पराजित भएको थियो ।
नेपालले आफ्नो इतिहासमा भारतलाई एक पटक मात्रै हराएको छ । दीपेन्द्रसिंह ऐरीको ८८ रन र ४ विकेटको सहयोगमा नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई १९ रनले हराएको थियो ।
हेलो कर्णाली । १९ माघ २०८०, शुक्रबार ०८:१२