त्रिभुवन विमानस्थलमा प्रहरी-कर्मचारी हातपात: असईलाई निलम्बनको सिफारिस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको हातपात भएको घटनाको छानबिन सकिएको छ।

बुधबार सहसचिव एवं छानबिन समितिका संयोजक थानेश्वर गौतमले गृह मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन्।

उक्त समितिले विमानस्थलमा कार्यरत असई संजय तामाङलाई निलम्बनको सिफारिस गरेको छ। यसबारे प्रहरी प्रधान कार्यालय नक्सालले प्रक्रिया अघि बढाउने तयारी छ।

त्यस्तै अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई विमानस्थलबाट हटाउन सिफारिस गरिएको छ। उनलाई त्यहाँबाट हटाएर गृह मन्त्रालयमा तान्ने र आचरणको कारबाही समेत गर्न सिफारिस गरिएको स्रोतले बतायो।

उनीमाथि कुटपिट गरेको आरोप लागेका प्रहरी जवानद्वय रवि रञ्जन गुप्तान र राजकुमार महतोलाई विभागीय कारबाहीका लागि सिफारिस समेत भएको छ।

त्यसैगरी कमान्ड राम्ररी नगरेको भन्दै विमानस्थलमा कार्यरत डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन पनि सिफारिस भएको स्रोतले बतायो।

गत शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने क्रममा प्रहरी र अध्यागमन कर्मचारीबीच हातपात भएको थियो।

अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथि प्रहरीले हातपात गरेको बताइएको थियो। यद्यपि प्रहरीले पनि आफूहरूमाथि अध्यागमन अधिकृत मोक्तानले सुरूमा हातपात गरेपछि घटना भएको दाबी गर्दै आएको छ।

उक्त घटनापछि गृहले सहसचिव गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन्।