राप्रपालाई भोट माग्दै मनिषा कोइराला, चुनावी सभालाई सम्बोधन गर्ने

चुनाव नजिकिएसँगै सेलिब्रिटीहरु राजनीतिक दल र उम्मेदवारप्रति खुल्न थालेका छन् । कतिपय कलाकार उम्मेदवारसँगै घरदैलोमा भोट माग्न व्यस्त छन् भने कतिपय चुनावी कार्यक्रममा सहभागी हुँदैछन् ।

चुनावी माहोल गर्माएका बेला अभिनेत्री मनिषा कोइराला पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन् । शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनिषाले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

पोखरामा हुने पार्टीको चुनावी कार्यक्रमपछि लिङ्देन र मनिषा वालिङको कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रमलाई मनिषाले पनि सम्बोधन गर्ने तय भएको हो ।

मनिषाले पहिलेदेखि नै राजसंस्था र हिन्दू राज्यको पक्षमा आफ्नो धारणा राख्दै आएकी थिइन् । तिनै एजेण्डा बोकेको दल राप्रपाप्रति उनको सैद्धान्तिक निकटता देखिन्छ ।

सन् १९८९ को नेपाली फिल्म ‘फेरि भेटौंला’बाट अभिनय करिअर थालेकी मनिषाले एक समय बलिउडमा राज गरेकी थिइन् । उनको पछिल्लो नेपाली फिल्म ‘धर्मा’ हो ।