नागरिकता विधेयक(पहिलो संशोधन), २०७९ राष्ट्रिय सभामा पेस

विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभामा पेस गरेको छ । बिहीवार बसेको राष्ट्रियसभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले संशोधित नागरिकता विधेयक पेस गरेका हुन् ।

राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई राष्ट्रिय सभामा पेस भएको हो । मिश्रले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक, २०७६ पनि राष्ट्रिय सभामा पेस गरेका छन् ।

राष्ट्रियसभा बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

त्यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमारसिंह यादवले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको छ ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले प्रस्तुत गरेको शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव पनि वहुमतले स्वीकृत भएको छ ।

बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सदस्य देवेन्द्र दाहालले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन, २०७६ पेस गरे ।

त्यस्तै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको एकीकृत प्रतिवेदन, २०७९ पनि पेस भएको छ ।