चुनावी चर्चा : चौरजहारीमा बलियो बन्दै कांग्रेस, यी हुन मेयरका आकांक्षी

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरे संगै राजनीतिक दल हरु आ-आफ्ना अभियान र कार्यक्रम लिएर सर्वसाधारणको घर दैलो पुग्न थालेका छन, गाउँ  शहर चोक चौतारो तिर हुने भलाकुसारी तर्क वितर्क  सुन्दा चुनावको सरगर्मी बढेको सहज अनुमान लगाउन सकिन्छ। अघिल्नो  पल्ट चुनाव जितेका दल फेरी आफ्नो बर्चश्व कायम राख्न चाहन्छन भने प्रतिपक्षमा रहेका दलहरु  यो पल्ट स्थानीय सरकार आफ्नो पोल्टामा पार्न चाहन्छन । स्थानीय सरकारका रुपमा जनताले पुरानैलाई नवीकरण गर्छन कि नयाँलाई स्थापना गर्छन त्यो हेर्न भने बैसाख ३० नै कुर्नु पर्ने छ ।

चुनावको चर्चा संगै रुकुम पश्चिममा पनि जनता आफ्नो पक्षमा पार्ने दलिय नेता कार्यकर्ताहरुको दौडधुप बढेको छ, संगठन विस्तार देखि चुनाव लक्षित विभिन्न अभियानहरु आयोजना गर्दै  जनता सम्म पुग्ने बाटो खोजिरहेका छन दलहरु। रुकुम १० बर्षे सशस्त्र विद्रोहको उद्गम थलो भएका कारण पनि स्वाभाविक रुपमा माओवादी केन्द्र पहिलो शक्तिका रुपमा रहेको छ । अघिल्लो  निर्वाचनमा अन्य पार्टिले सिमित केहि वडा जितेपनि सबै पालिकामा माओबादी केन्द्र नेतृत्वमा स्थानीय सरकार रहेको छ, तर स्थानीय सरकारहरुले जन अपेक्षा अनुरुप काम नगरेको भन्दै यो पल्ट नतिजाहरु फरक हुन सक्ने र प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले चौरजहारी, मुसिकोट, बाफिकोट लगायतका केहि पालिका र वडाहरुमा बलियो उपस्थितिका साथ चुनाव जित्न सक्ने आकलन गर्न थालिएको छ ।

नेपाली कांग्रेस चौरजहारीको नगर अधिवेशन सम्पन्न भए पछी निरन्तर घर दैलो अभियानमा रहेको नेपाली कांग्रेस अहिले निर्वाचन घोषणा भएपछी भने निर्वाचन लक्षित कार्यक्रम तयारीमा लागेको छ। लगातार जन भेटघाट र संगठन विस्तारको काममा जुटिरहेका  कांग्रेसी नेता कार्यकर्ता भने यो पल्ट स्थानीय निर्वाचन आफ्नो पार्टीले जित्ने पक्का जस्तै भएको बताउछन।  सांगठानिक काममा अति व्यस्त देखिनु भएका नेपाली कांग्रेस चौरजहारीका सभापति प्रेम बहादुर ओली पनि कांग्रेसका पक्षमा राम्रो माहोल बनिरहेको र आफुहरु निरन्तर जनताको मन र मत दुवै जित्ने अभियानमा रहेको बताउनु हुन्छ ।

केन्द्रमा जुन जुन पार्टीका बीच जे जस्तो गठबन्धन रहेपनि चौरजहारीमा ती पार्टीका बीच नै गठबन्धन हुन्छ भनेर भन्न सकिने अवस्था छैन । संघीय र कर्णाली प्रदेशको सरकारमा नेपाली कांग्रेस र माओबादी केन्द्रको गठबन्धन छ तर  रुकुम पश्चिममा भने सोहि गठबन्धनको सम्भावना भने न्यून रहेको ती पार्टीका स्थानीय नेता कार्यकर्ताहरुनै बताउछन  ।  केन्द्र र प्रदेशमा जे जस्तो सहमति भएपनि चौरजहारीको परिप्रेक्ष्यमा  भने नेपाली कांग्रेस र माओबादी केन्द्र बीच तालमेलको अवस्था नरहेको र यी २ पार्टी बीच स्वस्थ प्रतिस्पर्धा हुने कांग्रेस नेता यदु कुमार आचार्य बताउनु हुन्छ । अवस्था यसरी नै अघि बढे चौरजहारीको स्थानीय निर्वाचनमा कांग्रेस र एमालेका बीच चुनावी गठबन्धन हुन् सक्ने सम्भावना भने बढी देखिन्छ, यद्यपि अहिलेनै  नेपाली कांग्रेस र एमालेले चुनावी तालमेलका बिषयमा निर्णय भने गरिसकेका छैनन । कांग्रेसले चुनावी तालमेलको खाका लिएर आए गठबन्धनका बिसयमा सोच्न सकिने एमालेका नेताहरुले बताउदै आएका छन । चुनावमा उमेद्वार छनौटले धेरै प्रभाव पार्ने हुदा कांग्रेसले उपयुक्त व्यक्तिको नेतृत्वमा चुनावमा जाने निर्णय गरेर आए सकारात्मक छलफलका लागी एमाले तयार रहेको नेताहरु बताउछन ।

चुनावी सरगर्मी बढे संगै चौरजहारी नगरपालिकामा  मेयरको उमेद्वारका रुपमा कांग्रेसले कसलाई अघि सार्छ भन्ने कुरालाई सर्वसाधारणका साथै अन्य राजनीतिक दलले पनि उत्तिकै चासोको रुपमा हेरिरहेका छन । सहि उमेद्वार छनौट गर्न सके यो पल्टको निर्वाचनमा कांग्रेसले बाजी मार्न सक्ने  स्थानीय मतदाताहरु बताउछन ।  आगामी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखको उमेद्वारका रुपमा आकांक्षीहरुको संक्षिप्त विवरण हामीले यहाँ प्रस्तुत गरेका छौ ।

तिलक भण्डारी

२०३६ साल देखि राजनीतिमा सक्रिय भण्डारी हाल नेपाली कांग्रेसका महासमिति सदस्य हुनु हुन्छ । नेपाली कांग्रेसको  १२औ र १४औ महाधिवेशन प्रतिनिधि रहि सक्नु भएका भण्डारी रुकुमका अनुभवी कांग्रेस नेतामा गनिनु हुन्छ ।  चौरजहारी वडा नं १ निवासी उहाँ नेपाली कांग्रेस रुकुमको सचिव समेत रहिसक्नु भएको छ । द्वन्दकालमा माओबादीको निसानामा पर्नु  भएका भण्डारीको भौतिक श्री सम्पतीमा आगलागी गरिदा केहि समय चौरजहारी बाट विस्थापित समेत हुनु भएको थियो । होटल व्यावसायमा समेत संलग्न भण्डारी गत मङ्सिरमा सम्पन्न नेपाली कांग्रेस कर्णाली प्रदेश प्रथम अधिवेशनमा उपाध्यक्षका उमेद्वार रहेपनि पार्टी भित्रको आन्तरिक शक्ति  संघर्षका कारण पराजित हुनु भएको थियो ।०७४ को स्थानीय निर्वाचनमा पार्टीले उहाँलाई चौरजहारीको मेयरका रुपमा प्रस्ताव गरे पनि अन्तिम समयमा पारिवारिक कारण देखाउदै आफु उमेद्वार नबन्ने बताउनु भएको थियो ।

बलबीर गोसाई

०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फ बाट चौरजहारी नगरपालिका को मेयरमा प्रतिस्पर्धी रही उपविजेता  रहनु भएका गोसाई हाल पार्टीको कर्णाली प्रदेश कार्यसमिति सदस्य हुनुहुन्छ र पार्टीले उहाँलाई प्रदेश कार्यसम्पादन समितिमा समेत मनोनयन गरेको छ । राजनीतिमा आउनु अघि नेपाल बैकं लिमिटेडमा लामो समय सेवा गर्नु भएका गोसाई चौरजहारी नगरपालिका वडा नं १ का स्थाई बासिन्दा हुनुहुन्छ ।

प्रेम बहादुर ओली

लामो समय नेपाली कांग्रेसको समर्थक र क्रियाशील सदस्य रहनु भएका ओली हाल नेपाली कांग्रेस चौरजहारीको सभापति रहनु भएको छ । ईमान्दार र स्वच्छ छविको नेताका रुपमा चिनिने ओलीलाई  चौरजहारी कांग्रेस कार्यकर्ताकाले  लोकप्रीय व्यक्तिका रुपमा समेत चित्रीत गर्छन । उहाँ पार्टी भित्रको कुनै पनि खाले गुटबन्दी र शक्ति संघर्षमा नलागी नगर सभापति निर्वाचित भए पछी जनताको दुख सुखमा एकताबद्द हुनुका साथै निरन्तर  पार्टी र संगठन निर्माणका लागी अहोरात्र खटिरहनु भएको छ ।

 

चौरजहारी नगरपालिका प्रमुखको उमेद्वारका रुपमा हामीले यहाँ प्रस्तुत गरेका नाम केहि प्रतिनिधी नाम मात्रै हुन उहाँहरु बाहेक शिब  आचार्य, मनमोहन शाह, मनिषा भण्डारी लगायतको नाम पनि चर्चामै रहेको छ । अनेकन नामहरु चर्चामा रहेपनि अहिले चौरजहारीमा नेपाली कांग्रेसका तर्फबाट नगर सभापति प्रेम बहादुर ओलीको उमेद्वारीको खास चर्चा रहेको पाईन्छ । जो जो नेताहरुले दाबी गर्नु भएको छ त्यो उहाँहरुको अधिकारको कुरा उहाँहरु सबै हाम्रा लागी सम्मानित नै हुनुहुन्छ । सबै नेताहरुले पार्टीमा गर्नु भएको योगदानको कदर पार्टीले कही न कही गर्नेनै छ, गरेको पनि छ, तर अहिले स्थानीय नेता, कार्यकर्ता र मतदाताहरु पनि   नगर सभापतिकै नेतृत्वमा चुनावमा जानु पर्छ भन्नेमा रहेको नगर सचिव लक्ष्मण ओली वताउनु हुन्छ । प्रेम बहादुर ओलीको दाबेदारीलाई लिएर नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला नेतृत्व पनि सकारात्मक रहेको बताईन्छ। कांग्रेसले कसलाई जिम्मेवारी दिन्छ उसका आफ्ना बिधि विधान र प्रकियाहरु होलान तर हामी यति भन्न सक्छौ मतदाता पहिले भन्दा धेरै बुझ्न सक्ने भएका छन, आवश्यकता र महत्व छुट्याउन सक्ने भएका छन र मतदानमा स्वतस्फुर्त निर्णय गर्न सक्ने भएका छन,  त्यसैले यसपालीको निर्वाचनमा उमेद्वारी टुंग्याउदै गर्दा  कांग्रेसले जनभावनाको कदर गर्न सकोस ।