सल्यानमा हराएका मेवालालको शव ३ दिनपछि भेटियो

सल्यानमा बुधबार हराएका एक व्यक्ति तीन दिनपछि मृत अवस्थामा फेला परेका छन् । कपुरकोट गाउँपालिका-२ भकमका मेवालाल नेपालीको शव शनिबार विहान नजिकैको जंगलमा फेला परेका हो ।

मृतक नेपाली बुधबार घरबाट बाँस काट्न भन्दै जङ्गलतिर निस्किएका थिए । तर बेलुकीसम्म घर नआएपछि आफन्तले खोजी गरिदिन भन्दै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उनको खोजी गर्ने क्रममा हराएको ३ दिनपछि शनिबार मृत अवस्थामा फेला पारेको हो ।

बाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।