बाँके कांग्रेसमा जित्नकै लागि खेमा फेर्ने खेल

बाँके – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको ३ वटा प्रतिनिधि सभा क्षेत्रमा भोली बुधबारबाट निर्वाचन कार्यक्रम सुरु हुने भएको छ ।

जिल्ला निर्वाचन समिति सदस्य, डिएलए बाँकेका अधिवक्ता ईश्वरी ज्ञवालीले बुधबार बिहान १० बजेबाट एकैसाथ मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयन लगायत निर्वाचन कार्यक्रम सुरु हुने जानकारी दिएका हुन् । ‘यो आन्तरिक चलखेलको परिणति हो,’ काँग्रेस अगुवा भन्छन्, ‘राजकुमार बर्मा र चौधरी परिवारको द्वन्द्वमा काँग्रेसको जिल्ला राजनीति बल्झिएको हो ।’

निर्वाचन समितिका अनुसार, उम्मेदवारी मनोनयन पश्चात तीन वटै क्षेत्रमा बिहीबार मतदान र त्यस लगत्तै मतगणना हुनेछ । प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्न लागिएको हो । निर्वाचन क्षेत्रबाट कम्तिमा २५ जना महाधिवेशनका लागि र संख्याका आधारमा क्षेत्रीय समिति निर्वाचन गरिनेछ ।

अधिवक्ता ज्ञवालीका अनुसार, प्रतिनिधि सभा क्षेत्रको निर्वाचनबाट क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्वाचित व्यवस्था छ । निर्वाचनमा खटाउनुअघि तीन वटै क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखिकरण गरिने भएको छ ।

निर्वाचन समितिका प्रवक्ता अर्जुन ओलीका अनुसार, जिल्ला निर्वाचन परिचालन समिति बाँकेको सोमबार बसेको बैठकले क्षेत्रको निर्वाचनलाई पनि शान्तिपूर्ण रुपले गर्नका लागि दक्ष जनशक्ति परिचालन, शान्ति सुरक्षा तथा अनुगमनलाई ब्यापकता दिने निर्णय गरेको छ ।

‘सहजीकरण र समन्वय गर्न व्यवस्थापन समितिलाई जिम्मा पनि दिने निर्णय गरिएको छ,’ अधिवक्ता ज्ञवालीले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, प्रेस युनियन र प्राध्यापक संघलाई निर्वाचन पर्यवेक्षणका लागि खटाउने निर्णय पनि बैठकले गरेको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा संस्थापन पक्ष हावी भएको छ । बाँकेमा ६ मध्ये ५ वटा प्रदेश सभा क्षेत्रमा संस्थापन पक्षले जितेको हो । तर, संस्थापन पक्ष इतरले दुई क्षेत्र गन्दै आएको छ । प्रदेश सभा १ (ख) मा बलराम शर्मासहित उनको प्यानल निर्वाचित भयो ।

शर्माले संस्थापन पक्षका महाबीर ओलीलाई पराजित गरेर विजयी हुँदा नेपालगन्जका संस्थापन इतरबाट उत्साहित हुदै सामाजिक सञ्जालमा लेखियो, ‘नेपालगन्जको बदला कोहलपुरले लियो ।’ त्यसो लेखिनुमा नेपालगन्जमा संस्थापनका प्रशान्त विष्टको जीतका बदला कोहलपुरमा बीरेन्द्र शाहको जीत पनि थियो । कोहलपुर नगर अध्यक्ष शाह संस्थापन इतरका हुन् ।

प्रदेशसभा २ (क) मा ज्ञानेन्द्रकुमार चौधरीसहित उनको प्यानल निर्वाचित भयो । चौधरी संस्थापन इतरका थिए । तर, संस्थापनको दावी छ, उनी हाम्रो खेमामा आएपछि जीत सुनिश्चित भएको हो । चौधरीले पराजित गरेका शिवकुमार बर्मा संस्थापनकै हुन् । जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख चौधरी डुडुवा गाउँपालिकाका प्रमुख नरेन्द्र चौधरी (पप्पु)का भाइ हुन् । उनी संस्थापन इतरकै मानिन्छन् ।

‘यो आन्तरिक चलखेलको परिणति हो,’ काँग्रेस अगुवा भन्छन्, ‘राजकुमार बर्मा र चौधरी परिवारको द्वन्द्वमा काँग्रेसको जिल्ला राजनीति बल्झिएको हो ।’ प्रत्यक्षदर्शीका अनुसार, संस्थापन पक्षका कांग्रेस केन्द्रीय सदस्य किशोरसिंह राठौर, कांग्रेस नेता गजेन्द्र हमाल, लुम्बिनी प्रदेशका मन्त्री एवम् कांग्रेस नेता सुरेन्द्र हमाल लगायतले चौधरीको खुलेरै प्रचार गरेका थिए ।

निर्वाचन कार्यक्रम अन्तर्गत दुई वटा क्षेत्रमा निर्विरोध र चार वटामा मतदान गराइएको थियोे ।

प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापतिमा लक्ष्मण थारुसहित संस्थापन पक्षको प्यानल आयो । उनले संस्थापन इतरका जुगलाल थारुलाई पराजित गरेका थिए ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ (ख) को सभापतिमा जितेन्द्रबहादुर हमालसहित संस्थापन पक्षको प्यानलै निर्वाचित भए । हमालले निकटतम प्रतिद्वन्द्वी संस्थापन इतरका अखबर अलि दर्जीलाई हराएका थिए ।

बाँकेको प्रदेश सभा ३ (क) र (ख) मा संस्थापन पक्षकै निर्विरोध निर्वाचित भए । प्रदेश सभा क्षेत्र नम्बर ३ (क)को सभापतिमा केशवकुमार शाह र प्रदेश सभा ३ (ख)को सभापतिमा राजेन्द्रकुमार आचार्य निर्विरोध निर्वाचित भए ।

“नेपालगन्ज न्यूज”