बाल सुधार गृह प्रकरण : मृतक परिवारसँग सहमति, ५७ जना उपत्यकाबाहिर स्थानान्तरण

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग आठौँ दिनमा आज सहमति भएको छ ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ज्वरोले थलिएको अवस्थामा समयमै उपचार नपाउँदा भदौ ३ गते बिहान मृत्यु भएपछि मृतकका आफन्त र परिवारले क्षतिपूर्तिको माग गर्दै शव उठाएका थिएनन् ।

यही भदौ ३ गते मृतकका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनावग्रस्त बनेको थियो भने ४ गते मृतकका आफन्तले नाराबाजी र बाल सुधार गृहका बन्दीले विद्रोह गरेर तोडफोड गरी दुई सय २१ जना फरार भएका थिए ।

पटक पटकको छलफलसँगै आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसी, सुरक्षा निकायका प्रमुखहरु, युसेप नेपालका निर्देशक केशव सुवाल र प्रतिनिधिहरु तथा मृतक परिवारसँग भएको छलफल सहमतिमा टुङ्गिएको हो । आज भएको सहमति गरेर शवपरीक्षण गरी सदगद गर्ने सहमति भएको भक्तपुरका प्रजिअ रिजालले जानकारी दिए । उनले भने, “मृतकका परिवार र आफन्तसँग पटकपटक छलफल गर्‍यौँ र आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा शवपरीक्षण गर्ने, शवपरीक्षणपछि मृतकको दाहसंस्कार गर्ने, छानबिन कमिटीबाट आएको रिपोर्टअनुसार अगाडि बढ्ने, मृतक परिवारका लागि राहत रकमका लागि नेपाल सरकारलाई लेखी पठाउने सहमति भएको छ ।”

मृतक परिवारले भने रु १० लाख क्षतिपूर्ति एवं राहत रकमको माग गर्दै आएका थिए । युसेप नेपालले मृतकको काजकिरिया गर्नका लागि आफ्ना कर्मचारीको केही दिनको तलब काटेर सहयोगस्वरुप रु दुई लाख सहयोग रकम उपलब्ध गराएको छ । सहमति भएसँगै मृतक बस्नेतको सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा शवपरीक्षण गर्ने र दाहसंस्कार हुने भएको छ ।

त्यसैगरी बाल सुधार गृहमा रहेका ५७ जनालाई कारागार विभागले उपत्यका बाहिरका सुधार गृहमा स्थानान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले सानोठिमीस्थित सुधार गृहबाट १८ जनालाई पर्साको, १८ जनालाई मकवानपुरको, सात जनालाई डोटीको र १४ जनालाई रुपन्देहीको सुधार गृहमा स्थानान्तरण गरेको विभागले जानकारी दिएको छ ।

स्थानान्तरण गरिएकाहरू अधिकांश १८ वर्षमाथिका छन् । सुधार गृहमा रहेका दुई सय ९७ मध्ये ४३ बालिका र किशोरी छन् । सुधार गृहमा रहेका बालक एवं १८ वर्षमाथिका किशोरहरू दुई समूहमा विभाजन भई ग्याङ बनाउने र आपसमा झगडा गर्ने, विवाद मिलाउन गएका प्रहरीमाथि नै जाइलाग्ने गर्न थालेपछि थप घटना हुन नदिन उनीहरूलाई अन्यत्र स्थनान्तरण गरेको बताइएको छ ।

सुधार गृहमा अधिकांशलाई जबर्जस्ती करणी, कर्तव्य ज्यान, लागुऔषध, डाँका, ज्यान मार्ने उद्योग, अभ्रद व्यवहार, चोरी लगायतको मुद्दामा अदालतको आदेशले सुधार गृहमा राखिएको थियो । सानोठिमीको सुधार गृहमा रहेकामध्ये एक सय ५४ जना जबर्जस्ती करणीमा, ५८ जना कर्तव्य ज्यानमा संलग्न थिए । अदालतले १८ वर्षभन्दा कम उमेरका अपराधमा संलग्नहरूलाई सुधार गृह पठाउने गर्दै आएको छ ।

अदालतले तोकेको अवधि पूरा नगरेसम्म १८ वर्ष उमेर नाघे पनि सुधार गृहमै बस्न पाउने सुविधा दिएको छ । बालबालिकासम्बन्धी ऐनको दफा ४३ (४) मा ‘१८ वर्ष पुगेमा बानी ब्यहोरामा आएको सुधार, आर्जन गरेको सीप तथा शिक्षालाई ध्यानमा राखी बाँकी अवधि अन्य बालबालिकाबाट अलग राख्नुपर्ने’ उल्लेख छ ।

तर सानोठिमीमा रहेकामध्ये एक सय ३१ जना १८ वर्षमाथिका किशोरकिशोरी रहे पनि छुट्टाछुट्टै राख्ने व्यवस्था भने सरकारले गर्न नसक्दा सुधार गृहभित्रै अर्को अपराधका घटना होलान् भन्ने जोखिम भने रहँदै आएको छ ।

केटा एक सय र केटी १० जनाको क्षमता रहेको यहाँको सुधार गृहमा तेब्बरभन्दा बढी दुई सय ९९ बालबन्दी रहँदै आएकामा ५७ जनालाई स्थानान्तण गरेको हो । यही भदौ ४ गते सुधार गृह तोडेर फरार रहेकामध्ये ६ जनाबाहेक अरूलाई २४ घण्टाभित्रै प्रहरीले पक्राउ गरेको थियो भने ६ जना अझै फरार छन् ।

कारागार विभागका अनुसार देशभरमा बाल सुधार गृहमा एक हजार एक सय २७ बालबालिका छन् । अपराधमा मुछिएका १८ वर्षमुनिका बालबालिका राख्न मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, बाँके र डोटीमा बालसुधार गृह सञ्चालनमा रहेका छन् ।
रासस