प्रहरीले नियन्त्रणमा लिएका युवकको मृत्युपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त

प्रहरीले नियन्त्रणमा लिएका कालिकोटका एक युवकको सुर्खेतमा मृत्यु भएपछि आक्रोशित आफन्तजन र प्रहरीबीचको झडपले प्रदेश राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको हो ।

शुक्रबार साँझ नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का मिनी हमाल भनिने कृष्ण हमाललाई मादक पदार्थ सेवन गरेको भन्दै वीरेन्द्रनगरको सुब्बाकुनाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

हमाललाई मादक पदार्थ सेवन गरे/नगरेको जाँच गर्न सुर्खेत अस्पतालमा लैजाँदा गर्दा मृत्यु भएको प्रहरीको दाबी छ । तर अस्पतालले भने घटनाबारे एक विज्ञप्ति जारी गर्दै मृत्यु भइसकेको अवस्थामा हमाललाई अस्पताल ल्याइएको जनाएको छ ।

प्रहरीको कुटाइले हमालको मृत्यु भएको भन्दै आक्रोशित प्रदर्शनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेपछि वीरेन्द्रनगरको यरीचोक तनावग्रस्त बनेको छ ।

आन्दोलन हिंसात्मक बन्ने खतराले बजारका चोक चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ भने जिप्रकाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

सहायक प्रजिअ ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा छानबिन समिति

हमालको मृत्युको घटनामा छानबिन गर्न प्रजिअ खगेन्द्रप्रसाद रिजालको अध्यक्षमा बसेको जिल्लास्थित सुरक्षा निकायको बैठकले सहायक प्रजिअ ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्य छानबिन समिति बनाएको छ ।

प्रशासनले आफन्तहरुलाई पनि छानबिनको वातावरण बनाउन आग्रह गर्दै समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ भने घटनालाई लिएर जिल्लामा हुन सक्ने सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रण गर्न भनेको छ ।