सल्यान – सल्यानमा झाडापखालाबाट चारमहिने सुत्केरीको मृत्यु भएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ११ रैकर बस्ने २२ वर्षीया अमृता विकको मृत्यु भएको हो ।
सोमबार बिहान ४ बजेदेखि पखाला लागेपछि स्थानीय मेडिकलबाट मेट्रो नामक औषधि सेवन गरेको तर औषधि ठिक नभई थप समस्या देखिएपछि उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल लैजाँदै गर्दा बाटैमा विकको मृत्यु भएको हो ।
मेहलकुना अस्पताल पुग्नेबित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए ।
मृतकका श्रीमान् राजकुमार विक अहिले वैदेशिक रोजगारीका लागि खाडीमुलुक दुबई गएका र घरमा बच्चालगायत अन्य कसैलाई पनि पखालाको समस्या भने देखिएको छैन ।
चिसोका कारण महिलालाई झाडापखालाको समस्या देखिएको र शरीरमा पानी सकिएपछि डिहाइड्रेसनको समस्या देखिएका कारण मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।
हेलो कर्णाली । ११ माघ २०७९, बुधबार १७:२६