कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका २५ सांसदले विश्वासको मत दिएका हुन् ।

नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) सांसदले शर्माको पक्षमा मत हालेका छन् । नेपाली कांग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियूक्त गरेका थिए । शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री हुन् ।

कर्णाली सरकारको नेतृत्व ५ वर्ष नै माओवादीले गर्ने केन्द्रीय सहमति भएको थियो । तर सत्ता गठबन्धनबीच केन्द्रमा भएको सहमति सच्याउँदै कर्णालीमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् ।

पहिलो पटक संसदीय यात्रा थालेका शर्मा पहिलो प्रयासमै मुख्यमन्त्री बनेका हुन् । शर्मा रुकुम पश्चिम –ख बाट निर्वाचित प्रदेश सांसद हुन् ।