कर्णाली किनारमा तीन जिल्लाको सुरक्षा बैंठक

दैलेखको आठबीस नगरपालिका अन्तर्गत पर्ने कर्णाली नदीको किनारमा तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको चुनाव केन्द्रीत बैठक बसेको छ । बिहीबार कर्णाली प्रदेशका दैलेख र कालिकोट तथा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाबीच सुरक्षा समन्वय बैठक बसेको हो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आठबीस नगरपालिका–४ राकमकर्णालीस्थित कर्णाली किनारमा बसेको बैठकले १० बुँदे निर्णय समेत गरेको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, विपद् व्यवस्थापन, दुई ठूला राजमार्गहरु कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गमा सहज सवारी आवागमन, सडक दुर्घटना न्यूनीकरण, चोरी निकासी नियन्त्रण लगायतका विषयमा केन्द्रित रहेर अन्तर जिल्ला सुरक्षा बैठक बसेको हो ।

बैठकमा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, अछामका प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेय, दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद साहसहित कालिकोट र अछामका प्रहरी प्रमुख, तीन वटै जिल्लाका सशस्त्र प्रहरी बल नेपालका प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु उपस्थित थिए ।