साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपबाट नेपाल बाहिरियो, श्रीलंकाविरूद्ध बंगलादेशको एक दर्जन गोल

काठमाडौं – श्रीलंकाविरूद्ध गोल वर्षा गर्दै घरेलु टोली बंगलादेश साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आइतबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १२-० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो।

ढाकास्थित सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा बंगलादेशले पहिलो हाफमा ४ र दोस्रो हाफमा ८ गोल गरेको थियो।

जारी प्रतियोगितामा अपराजित बंगलादेश समूह विजेताका रूपमा फाइनलमा पुगेको हो। बंगलादेशले अब उपाधिका लागि भारतको सामना गर्नेछ । फाइनल खेल मंगलबार हुनेछ।

यसअघि बंगलादेशले पहिलो खेलमा नेपालविरूद्ध बराबरी खेलेको थियो। त्यसपछि भने उसले लगातार जित हात पार्‍यो ।

आतबार नै भएको पहिलो खेलमा भारतविरूद्ध नेपाल १-० गोल अन्तरले पराजित भएको थियो।

पहिलो खेलमा बंगलादेशविरुद्ध गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले हरायो भने तेस्रो खेलमा भुटानलाई ४-० गोल अन्तरमा हराएको थियो।

बंगलादेशको आइतबारको जितसँगै फाइनलमा पुग्ने नेपालको झिनो आशा पनि समाप्त भएको छ।