महासमिती सदस्य भण्डारी पत्नीको निधन

नेपाली काङ्ग्रेस रुकुमका नेता, महाधिवेशन प्रतिनिधि तथा महासमिती सदस्य तिलक भण्डारी पत्नी जमुना भण्डारीको ५३ वर्षको उमेरमा निधन भएको छ। उहाँ चौरजहारी नगरपालिका -१ स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा आज बिहान मृत अवस्थामा भेटिनु भएको हो ।

लामो समय देखि उच्च रक्तचापको औषधि सेवन गरिरहेकी भण्डारी मधुमेहको समेत विरामी रहनु भएको पारिवारिक स्रोतले बताएको छ । हिजो दिनभर जसो सामान्य रहनु भएकी भण्डारी आज नियमित समयमा नउठे पछि सुतेको कोठामा हेर्न जादा मृत अवस्थामा भेटिनु भएको हो ।

स्थानीय तह निर्वाचन प्रचार अभियान अन्तर्गत पार्टी जिम्मेवारीको सिलसिलामा महासमिति सदस्य भण्डारी भने हिजो बाफिकोटमा हुनुहुन्थ्यो,  निधनको खबर सुने पछि आफू घर फर्किदै गरेको र बाटोमा भएका कारण विस्तृत जानकारी नपाएको भण्डारीले वताउनु भयो । महासमिती सदस्य भण्डारी चौरजहारी आईपुगे पछि अन्तिम संस्कारका कार्य गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

नेपाली काङ्ग्रेस रुकुम कि जिल्ला सदस्य समेत रहिसक्नु भएकी भण्डारीको निधनले नेपाली काङ्ग्रेस चौरजहारी लाई अपुरणीय क्षती पुगेको भन्दै नगर कार्य समितिले श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको छ । उहाँको श्रद्धाञ्जली स्वरुप पार्टीका घोषित कार्यक्रमहरु पछि सारिएको सभापति प्रेम बहादुर ओलीले बताउनु भयो। भण्डारीको निधनमा नेपाल महिला संघ चौरजहारी, उधोग वाणिज्य संघ चौरजहारी, लगायत विभिन्न संघ संस्था तथा स्थानीय व्यापारी बुद्धिजीवीहरुले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।